विद्यालयको चौरमा गाविसको काम

इनेप्लिज २०७१ माघ १५ गते १:४५ मा प्रकाशित

Kailali_district_locationलम्की, १५ माघ । भवन निर्माणका लागि विभिन्न सङ्घ संस्थालाई वार्षिकरुपमा बजेट विनियोजन गर्ने गाविस कार्यालय आफैँ भवनविहीन रहेका छन् ।

द्वन्द्वकालमा ध्वस्त गरिएका कैलालीका अधिंकाश गाविस कार्यालय अझै पुनःनिर्माण हुन नसक्दा भवनविहीन रहेका हुन् । तत्कालीन विद्रोही नेकपा माओवादीले विसंं २०५८ मा कैलालीका गाविस कार्यालय ध्वस्त गरेको थियो ।

ध्वस्त पश्चात गाविस विस्थापितसमेत भएका थिए । विसं २०६३ पछि गाविस पुनःस्थापना भएपछि भवन भने पुनःनिर्माण हुन सकेका छैनन् । कार्यालय भवन पुनःनिर्माण नहुँदा गाविस कार्यालय भाडामा कोठामा लिई सञ्चालन भइरहेका छन् ।

गाविसका मासिक बैठक तथा काम खुला स्कुलका चौरमा भइरहेका छन् । गाविसको कार्यालयको भवन नहुँदा गाविसको काममा असहज भएको उदाशिपुर गाविसका सचिव दुर्गाप्रसाद खनालले दुखेसो पोख्नुभयो । “गाविस कार्यालयको भवन छैन ।” “गाविसको काम र बैठक राख्न समेत अप्ठ्यारो भइरहेको छ ।” सचिव खनालले भन्नुभयो, “त्यसका लागि विद्यालयको छुट्टी पर्खिनुपर्ने हुन्छ, चौरमै बैठक गर्ने गर्छौं ।”

लक्ष्मी उच्च मावि उदाशिपुरको भवनको एक सटरमा विगत सात वर्षदेखि कार्यालय सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले
कार्यालयको भवन नभएकाले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन नसकेको बताउनुभयो ।
जिल्ला प्राविधिक कार्यालय कैलालीका प्रमुख इन्जिनियर प्रेमदत्त भट्टले माओवादीले ध्वस्त पारेको कैलालीका साविक ४२ गाविसमध्ये ४० वटा गाविसमा पूर्ण क्षति भएको र एक वटा गाविसमा आशिक क्षति भएको जानकारी दिनुभयो ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा सञ्चालित द्वन्द्वत्तोरत शान्ति तथा पुनःनिर्माण आयोजनाले १२ वटा गाविसको भवन निर्माण गरिसकेको इन्जिनियर भट्टले बताउनुभयो ।
यस वर्ष चार वटा गाविसको भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले गाविसको भवन निर्माणका लागि करिब रु ५५ लाख विनियोजित गर्नुपर्ने भएकाले सबै गाविसमा एकैचोटी सम्भव नभएको र विनियोजित रकम पूरा नआउने भएका कारण पनि पुनःनिर्माणमा ढिलाइ भएको हो भन्नुभयो ।

प्रतिक्रिया