शनिबार, मंसिर १३ २०७७
काठमाडौं १२:५१
वासिङटन डिसी 02:06

अमेरिकी राष्ट्रपति ओबामाको भ्रमणपछि भारतले विदेशमन्त्रीलाई चीन पठायो

इनेप्लिज २०७१ माघ १४ गते १५:४४ मा प्रकाशित

susma-sawarajनयाँ दिल्ली, १४ माघ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतसँग सम्बन्ध नवीकरण गर्ने लक्ष्यले गर्नुभएको भ्रमण सम्पन्न भएपछि भारतका विदेशमन्त्री यसै साताको अन्त्यमा चीनको भ्रमणमा जानुहुने जानकारी बुधबार नयाँ दिल्लीले दिएको छ ।

विदेशमन्त्री सुष्मा स्वराजले चीन भ्रमणकालमा उहाँका चिनियाँ तथा रसियाली समकक्षीसँग त्रिपक्षीय वार्ता गर्नुहुने जानकारी भारतीय विदेश मन्त्रालयले दिएको छ । यो उहाँ गत वर्ष विदेशमन्त्री पदमा पुगेपछिको पहिलो चीन भ्रमण भएको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपति ओबामाले दुई मुलुकबीच सम्बन्ध बलियो बनाउन नयाँ दिल्लीको उच्चस्तरीय भ्रमण गरेपछि उक्त वार्ता हुनथालेको हो । अमेरिकी राष्ट्रपति ओबामाको भ्रमण चीनको क्षेत्रीय प्रभाव कम गर्ने अभिरुचिबाट अभिप्रेरित भएको बताइएको छ ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुनिङले यो भ्रमण राजनीतिक विश्वास विस्तार गर्न लक्षित रहेको बताउनुभयो ।

उहाँले चीन तथा भारत दुबै ठूलो विकासशील मुलुक भएको र उनीहरू उदाउँदा अर्थतन्त्र पनि भएको बताउनुभयो ।

उहाँले दुबै मुलुकले राजनीतिक विश्वास तथा विभिन्न क्षेत्रमा व्यवहारिक सहयोग विस्तार गर्न खोजेको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ओबामाको तीन दिने भ्रमणका समयमा चीनको नाम नलिइए पनि राष्ट्रपति ओबामाले भारतको एसिया प्रशान्त क्षेत्रमा ठूलो भूमिकाका लागि स्वागत गर्नुभएको थियो । उहाँले यस क्षेत्रमा स्वतन्त्र आवागमन कायम गर्नुपर्ने बताउनुभएको थियो ।

दक्षिणी चीन जल क्षेत्रको ठूलो भागमा बेइजिङले आफ्नो सार्वभौमसत्ता दाबी गरेको छ भने यो जलक्षेत्र विश्वव्यापी व्यापारका लागि निकै महत्वपूर्ण छ ।

भारतीय नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघिको सरकारले भन्दा पनि चीनप्रति बढी स्वीकारात्मक नीति लिनुभएको ठानिएको छ ।

हाल प्रधानमन्त्री भारतीय अर्थतन्त्रलाई अगाडि बढाउन चाहनुहुन्छ र त्यसका लागि चीनको लगानी निकै आवश्यक पर्छ । यसैले उहाँ चीनलाई पन्छाउन चाहनुहुन्न ।

अमेरिकी राष्ट्रपति ओबामाको भ्रमणकालमा उहाँ तथा भारतीय प्रधानमन्त्री मोदीले आफूहरूबीच व्यक्तिगत रूपमा राम्रो सम्बन्ध भएको देखाउनुभएको थियो ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले दुई मुलुकबीच मौसम परिवर्तनका विषयमा निरन्तर रूपमा भिन्नता भएको बताउँदै यो सतही मित्रता भएको आरोप लगाएको छ । रासस÷एएफपी

प्रतिक्रिया