बुधबार, कार्तिक १२ २०७७
काठमाडौं ०८:२१
वासिङटन डिसी 22:36

मोदीको आगमनपछि नेपाल–भारत सम्बन्ध थप उचाइमा

इनेप्लिज २०७१ माघ १४ गते १४:२३ मा प्रकाशित

modiकाठमाडौँ, १४ माघ । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी निर्वाचित भएपछि नेपाल–भारत सम्बन्ध थप उचाइमा पुगेको राजनीतिक जानकारहरूले बताएका छन् ।

भारतको ६६ औँ गणतन्त्र दिवसका अवसरमा ‘नेपाल भारत मैत्री समाज’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले भारतको प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै नरेन्द्र मोदीले आफ्नो शपथ कार्यक्रममा छिमेकी मुलुकका सबै राष्ट्र तथा सरकार प्रमुखहरूलाई आमन्त्रण गरेर महत्व दिएको धारणा राखे ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दुबै मुलुकबीच लामो समयको अन्तरालपछि उच्चस्तरमा मैत्रीपूर्ण भ्रमण हुनुका साथै भारतले नेपाललाई दिएको महत्व र गरेको सहयोगले आशा जागेको बताउनुभयो ।

मुलुक संविधान निर्माणको महत्वपूर्ण चरणमा रहेको र संविधान निर्माणका लागि अधिकतम् सहमतिको प्रयास गरिने बताउँदै नेता खनालले दलहरूबीच सहमति नभए मतभिन्नतालाई व्यवस्थापन गर्ने लोकतान्त्रिक प्रक्रिया निर्वाचन भएकोमा जोड दिनुभयो ।

पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष सूर्यबहादुर थापाले भारतको गणतन्त्र दिवसको समारोहमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाको उपस्थितिले विश्वमा भारतको शक्ति उजागर भएको बताउँदै भारतको प्रगतिबाट नेपालले फाईदा लिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले भारतका प्रधानमन्त्री मोदीले आफ्नो पहिलो विदेश भ्रमण भुटान र दोस्रो भ्रमण नेपालबाट सुरु गरेर छिमेकलाई महत्व दिएको बताउँदै नेपालका विभिन्न जलविद्युत आयोजनामा ठूलो लगानीको सम्झौता गरेर सम्बन्धलाई थप उचाईमा पुर्‍याएको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सभासद् गोपालमान श्रेष्ठले संविधान निर्माण प्रक्रियामा दुई तिहाईको सहमतिलाई अझ बढाउँदै लैजाने विश्वास दिलाउँदै त्यसमा छिमेकी मुलुक भारत र अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग रहेको दाबी गर्नुुभयो ।

नेपालका लागि भारतका राजदूत रणजित रेले छिमेकी मुलुकको विकास र स्थायित्वबाट भारत अलग रहन नसक्नेमा जोड दिँदै नेपालको संविधान निर्माण कार्यले शान्ति, विकास र स्थिरता ल्याओस् भन्ने कामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा राप्रपाका नेता तथा पूर्व मन्त्री डा. प्रकाशचन्द्र लोहनी, पूर्व राजदूत डा। लोकराज बराल, समाजका अध्यक्ष प्रेम लस्करीलगायतले नेपाल–भारत सम्बन्धको चर्चा गर्दै अझ प्रगाढ बनाउँदै लैजानसके दुवै मुलुकको हितमा हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया