अदुअआः करिब तेह्र हजार उजुरी फछर्योट
काठमाडौँ, १३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आव २०७०/७१ मा २२ हजार ६०२ उजुरी प्राप्त भएकामा १२ हजार ८९२ उजुरी फछ्र्योट गरेको छ ।
राष्ट्रपति डा रामवरण यादवसमक्ष आज आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले प्रस्तुत गरेको चौबीसौँ वार्षिक प्रतिवेदनमा आयोगको केन्द्र र क्षेत्रीय कार्यालयमा विभिन्न माध्यमबाट ती उजुरी आएको उल्लेख छ । फछ्र्योट भएकामध्ये छ हजार १८५ उजुरी प्रारम्भिक अनुसन्धानबाट तामेलीमा राखिएको, ८९० उजुरीमा विस्तृत अनुसन्धान गर्ने निर्णय भएको र पाँच हजार ८१७ उजुरीमा विभिन्न किसिमको कारबाही भएको आयोगले जनाएको छ ।
आव २०६९/०७० मा भने कुल उजुरीको सङ्ख्या ११ हजार २९८ रही छ हजार ६७२ उजुरी फछ्र्योट भएको थियो ।
गत आवमा ६५२ व्यक्तिलाई प्रतिवादी बनाई १६८ मुद्दा विशेष अदालतमा दायर गरिएको छ । प्रतिवादी बनाइएकामध्ये पुरुषको सङ्ख्या ६०० र महिलाको ५२ रहेको छ । अदालतमा दायर गरिएका मुद्दालाई विषयगत आधारमा हेर्दा नक्कली लिखत तथा शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ८०, भूमिसम्बन्धी १०, घुस वा रिसवतसम्बन्धी २१ र सार्वजनिक खरिद तथा निर्माणसँग सम्बन्धित १२ मुद्दा छन् ।
त्यसैगरी गैरकानुनी लाभ हानिसम्बन्धी ३९ तथा गैरकानुनी सम्पत्ति, राजस्व हिनामिना र जाली राहदानीसम्बन्धी दुई दुई मुद्दा पनि सो आवमा दायर गरिएका छन् । आयोगमा दर्ता भएका उजुरीमध्ये क्षेत्रगत आधारमा सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित दुई हजार ९०० अर्थात् १३ प्रतिशत छ ।
त्यसपछि क्रमशः सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्बन्धित एक हजार ८५७ (करिब आठ प्रतिशत), भूमिसुधार तथा व्यवस्था मन्त्रालयसँग सम्बन्धित एक हजार २९२ (करिब छ प्रतिशत) र गृह मन्त्रालयसँग सम्बन्धित एक हजार १० (करिब चार प्रतिशत) उजुरी छन् ।
त्यसैगरी अर्थ मन्त्रालयसँग सम्बन्धित उजुरीको सङ्ख्या ८९० (करिब चार प्रतिशत) छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित उजुरी ७६८ (करिब तीन प्रतिशत) छन् । सोबाहेक आयोगमा सम्पत्ति मूल्याङ्कन तथा विशेष अनुसन्धानतर्फ दुई हजार ४६९ (करिब ११ प्रतिशत) र शैक्षिक प्रमाणपत्र छानबिनतर्फ एक हजार १९० (करिब पाँच प्रतिशत) उजुरी पर्न आएका छन् ।
गत आव २०७०/०७१ मा आयोगबाट अभियोजन गर्ने निर्णय भएका मुद्दामा करिब रु एक अर्ब ६६ करोड बिगो माग दाबी लिइएको छ । आव २०६९/०७० मा भने ९३ मुद्दा विशेष अदालतमा दायर भई करिब रु ५३ करोड ७० लाख मात्रै बिगो माग दाबी लिइएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
सो आवमा सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य गरी सार्वजनिक संस्था वा सम्पत्तिमा हानिनोक्सानी पु¥याएकामा आयोगका निर्णयबाट करिब छ करोड २६ लाख भरिभराउ भएको आयोगका प्रवक्ता सापकोटाले बताउनुभयो ।
त्यसैगरी अनुसन्धानका क्रममा असुलउपर भएको करिब रु २५ करोड ६१ लाख र असुलउपरका लागि लेखी पठाइएको करिब सात करोड ६१ लाखसमेत गरी करिब रु ३९ करोड ४८ लाख असुल उपरसम्बन्धी कारबाही भएको आयोगले जनाएको छ । आव २०६९÷७० मा आयोगको निर्णयबाट करिब रु चार करोड ३७ लाख मात्रै असुल उपरसम्बन्धी कारबाही भएको थियो ।
गत आव २०७०÷०७१ मा आयोगको निगरानी एवम् आन्तरिक राजस्व विभाग तथा कार्यालयको विशेष पहलमा बक्यौता आयकर र मूल्य अभिवृद्धि कर समेत गरी करिब रु छ अर्ब सात करोड असुल उपरसम्बन्धी कारबाही भएको आयोगले जनाएको छ ।
सो अवधिमा आयोगबाट भएको कारबाही र पहलस्वरूप काठमाडौँ उपत्यकाभित्रको ५२–४–२–२ रोपनी र उपत्यका बाहिरको १६०–१०–२–२ रोपनी जग्गा सरकारको नाममा कायम गर्न निर्णय भई लेखी पठाइएको थियो भने यसै आवभित्र उपत्यकाको ३३–१–१–१ रोपनी र उपत्यका बाहिरको १३–१–०–१ रोपनी जग्गा सरकारको नाममा कायम भई आएको छ । आयोगबाट विशेष अदालतमा दायर भएका मुद्दामध्ये आव २०७०÷०७१ मा ९८ मुद्दाको फैसला प्राप्त भएको छ ।
दायर गरिएका मुद्दामध्ये करिब ८० प्रतिशतमा आयोगलाई सफलता प्राप्त भएको र असफल भएका १९ मुद्दाको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
प्रतिवेदन बुझाउँदै प्रमुख आयुक्त कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले विभिन्न उपचारात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक रणनीति अवलम्बन गर्दै आएको राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति डा यादवले भ्रष्टाचारजन्य गतिविधि र अख्तियारको दुरुपयोग जस्ता क्रियाकलाप नियन्त्रण गरी मुलुकभित्र सुशासनको प्रत्याभूति गराउने राज्यको बृहत् उद्देश्यमा आयोगले दिएको योगदानको सराहना गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । राष्ट्रपति डा यादवले आगामी दिनमा देशमा सुशासनको प्रत्याभूति दिलाउन आयोगलाई थप प्रभावकारी भूमिका खेल्न आग्रह गर्नुभयो ।
बाइडेनको सपथ ग्रहणमा अमेरिकी प्रख्यात गायिकाहरु लेडी गागा र जेनिफर लोपेजको प्रस्तुति हुने
भर्जिनिया फेयरफ्याक्स काउन्टीमा ६५ बर्ष भन्दा माथी तथा अन्यलाई जनवरी १८ देखि खोप दिइने
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
अमेरिकामा बाइडेनको उद्घाटन सम्म कोरोनाबाट कूल ४ लाखको मृत्यु हुने ,एकैदिनमा ३७०० सयको मृत्यु
प्रतिक्रिया