शनिबार, कार्तिक ८ २०७७
काठमाडौं १२:५४
वासिङटन डिसी 03:09

उद्योग दिवस मनाउन मिति खोज्दै सरकार

इनेप्लिज २०७१ माघ १२ गते १६:२३ मा प्रकाशित

OLYMPUS DIGITAL CAMERAकाठमाडौँ, १२ माघ । मुलुकमा उद्योगमैत्री वातावरण बनाउन माध्यममा रुपमा उद्योग दिवस मनाउन सरकार मितिको खोजीमा जुटेको छ ।

कुन मितिमा उद्योग दिवस मनाउने भनेर यतिखेर उद्योग मन्त्रालय उद्योगसम्बन्धी विभिन्न ऐतिहासिक घटनाको मिति खोज्दै कुन मिति उचित हुन्छ भनेर विश्लेषण गरिरहेको मन्त्रालयले आज यहाँ आयोजित पत्रकार भेटघाटमा जानकारी गराएको छ ।

विसं १९९२ मा उद्योग परिसङ्घको गठन भई त्यही परिसङ्घअन्तर्गत नेपालको पहिलो उद्योग विराटनगर जुट मिल स्थापना भएकाले त्यसको मिति यकीन गरी उद्योग दिवस मनाउने मन्त्रालयले सोच बनाएको भएपनि निर्णयमा पुगिनसकेको मन्त्रालयले जनाएको छ ।

विराटनगर जुट मिल र घरेलु इलम प्रचार अड्डाको स्थापनाको मितिलाई पनि दिवसका मिति बनाउन सकिने बारेमा पनि मन्त्रालयको महाशाखाले छलफल गरिरहेको एवम् सो मितिको यकीन मितिको खोजी भइरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता यामकुमारी खतिवडाले बताउनुभयो ।

त्यस्तै विसं १९९४ मा घरेलु इलम प्रचार अड्डाको स्थापना भएको मितिमा पनि उद्योग दिवस मनाउने बारेमा छलफल भएको भएपनि त्यसको यकीन मिति पत्ता लागिनसकेको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले पहिलो औद्योगिक ऐन, औद्योगिक नीति र प्रजातन्त्र  पुनःस्थापनापछि पहिलो उद्योग ऐन बनेको मितिलाई पनि दिवस मान्ने सम्बन्धमा बहस गरिरहेको छ ।

मन्त्रालयले आफ्नो गरेका काम कारवाही र प्रगतिका बारेमा जानकारी गराउँदै विदेशी लगानी नीति, औद्यौगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन, प्रविधि विकास कोष निर्देशिका, २०७० लगायतका ऐनकानुनको निर्माणमा कार्य अघि बढाएको बताएको छ ।

त्यस्तै कम्पनी रजिष्टारको कार्यालयको शाखा विस्तार गर्ने लक्ष्यअनुरुप विराटनगरमा शाखा स्थापना भइसकेको र निकट भविष्यमै कोहलपुर, वीरगन्ज, धनगढी र रुपन्देहीमा समेत शाखा कार्यालय स्थापनाका लागि गृहकार्य भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

मन्त्रालयले औद्योगिक क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सूचना तथा तथ्याङ्क व्यवस्थित गर्न औद्योगिक सूचना केन्द्र स्थापनाका लागि आवश्यक कार्य भइरहेको जानकारी दिँदै भैरहवा विशेष आर्थिक क्षेत्र, सिमरा विशेष आर्थिक क्षेत्र र पाँचखाल विशेष क्षेत्रको कार्य अघि बढेको जनाएको छ ।

नेपाल औषधि लिमिटेडलाई सरकारले नै सञ्चालन गर्ने गरी अर्थ मन्त्रालयसँग रु ५२ करोड माग गरेको छ भने नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ट म्याग्नेसाइट लिमिटेड, जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल कृषि औजार कारखाना लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड, हेटाँैडा कपडा उद्योग र वीरगन्ज चिनी कारखानाको व्यवस्थापन करार वा लिजमा सञ्चालन गर्ने प्रयोजनका लागि प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले प्राकृतिक ग्यास अन्वेषण तथा परीक्षण उत्पादन कार्यअन्तर्गत ३५० मिटर ड्रिलिङ कार्य सम्पन्न भई परीक्षण उत्पादन कार्यका लागि छुट्टै भण्डारण निर्माण कार्य भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया