ओली भन्छन्, ‘संविधानसभाले छिट्टै संविधान दिन्छ’

इनेप्लिज २०७१ माघ ८ गते १८:५० मा प्रकाशित

काठमाडौँ, ८ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट प्रक्रियाबाट भए पनि सकेसम्म छिट्टै संविधान ल्याएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

“अहिलेको संविधानसभा असफल हुँदैन सकेसम्म यो सभाले छिट्टै संविधान दिन्छ, सबै ढुक्क भए हुन्छ, अहिले समयसीमा दिन सकिन्न” संविधानसभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उहाँले भन्नुभयो ।

संविधानसभा संविधान नबनीकन असफल नहुने र यसको अवधि तीन वर्षको भए पनि सकभर त्यो अघिनै संविधान जारी गर्ने विश्वास उहाँले दिलाउनुभयो । आज संविधान जारी हुनुपर्ने प्रतिबद्धतालाई तोड्दै संविधान नदिन एमाओवादी र मधेसकेन्द्रित दल सफल भएको भनी व्यग्ङ्य गर्दै उहाँले भन्नुभयो, ‘संविधानसभालाई व्यवधान खडा गर्न जे पनि गर्न उहाँहरु तयार हुनुभयो तर हामीले भिडन्त चाहेनौंँ, संयमता अपनायौं ।”

ओलीले भन्नुभयो, ‘हामी दुई तिहाइमा छौंँ, केही सङ्ख्याले चिच्याउँदैमा सभा अवरुद्ध हुनु हुँदैन, जनताको अपेक्षाअनुसार आज संविधान जारी हुुनुपर्ने हो, त्यसमा तुषारापात भएको छ, तोडफोड गर्न, माइक कुर्सी भाँच्न, माइक प्रहार गर्न उहाँहरु सफल हुनुभयो ।”

उपलब्धि हुन नसक्नुमा क्षमायाचना

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणमा आज कुनै उपलब्धि हुन नसक्नुमा क्षमायाचना गर्नुभएको छ ।

आज राति संविधानसभाको बैठक स्थगनपछि बाहिरिने क्रममा अध्यक्ष दाहालले आफूहरूले सहमतिका लागि गरेको प्रयास सत्तारूढ दलका कारण सफल हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

सत्तारूढ दलले विगतको सहमति उल्ट्याएर प्रतिगामी संविधान ल्याउने कोसिस गरेको भन्दै उहाँले आफूहरूले त्यो प्रयास सफल हुन नदिएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “सहमति भएका विषय मस्यौदा समितिमा पठाऔँँ र सङ्घीयताबारे सहमतिको कार्य जारी राखाँै, कतिपय सवालमा हाम्रा फरक मत दर्ज गरेर जाऔँ र आजको दिनमा सहमतिको सन्देश दिऔँ भन्ने प्रस्तावमा पनि निचोड आउन सकेन ।”

उहाँले सरकारमा रहेका दलमा रहेको अहम् र विगतको सहमतिबाट पछि हट्ने मानसिकताका कारण सहमति हुन नसकेको दोहो¥याउँदै भन्नुभयो, “ऐतिहासिक संविधान ल्याउने प्रयास जारी राख्नेछौँ ।”

एमाओवादीले मानेनः गच्छदार

मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले एक महिनाभित्र सङ्घीयताको विषय टुङ्ग्याउने गरी शासकीय स्वरुपमा एमाओवादीको ‘नोट अफ डिसेन्ट’ सहित अन्य विवादित विषयमा सहमति आज सामूहिक राजनीतिक वक्तव्य दिने कुरामा एमाओवादी नमानेको बताउँदै अहिलेको संविधानसभाबाट सकेसम्म छिट्टै संविधान ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया