सभासद्हरूको शरीर जाँच, संविधानसभामा सुरक्षा व्यवस्था कडा

इनेप्लिज २०७१ माघ ८ गते ७:४२ मा प्रकाशित

काठमाडौँ, ८ माघ । संविधानसभाको आजको बैठकमा भाग लिन आउनुभएका सभासद्को शरीर जाँच गरेरमात्र उहाँहरूलाई प्रवेश दिइएको छ ।

संविधानसभा भवनको मूलद्वारबाटै सभासद्, सञ्चारकर्मी तथा भवनमा प्रवेश गर्ने जो कोहीको शरीर, झोला, चस्मा, पर्सलगायतको सूक्ष्म परीक्षण गरेर मात्र प्रवेश दिने गरिएको छ ।

मोटर र मोटरसाइकल चढेर आएका सबैलाई कडा जाँचपछि मात्र संविधानसभा भवन परिसरमा प्रवेश दिइएको छ भने विगतमा दक्षिण द्वारबाट सभासद्हरूलाई सभामा दिइएको प्रवेशद्वार बन्द गरेर मूलढोकाबाट मात्र प्रवेश दिइएको छ ।

सभामा प्रवेश गर्ने सभासद्लाई झोलालगायत सामग्री सभामा लैजान दिइएको छैन । सभास्थल प्रवेशमा मन्त्रिपरिषद्का सदस्यलाई पनि जाँच गरेरमात्र भित्र जान दिइएको छ ।

संविधानसभाभित्र र बाहिर नेपाल प्रहरीको बाक्लो उपस्थिति छ । सभाभवनभित्रको सुरक्षा नेतृत्व प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्मा नेतृत्वको उच्च टोलीले गरेको छ ।

आज बिहान ११ बजेका लागि निर्धारण गरिएको संविधानसभाको बैठक अहिलेसम्म प्रारम्भ भएको छैन । आजको बैठकमा प्रश्नावली निर्माण समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन नसकेको र विवादका विषयमा प्रश्नावली पनि तयार गर्न नसकेपछि प्रक्रियामा गएर संविधान जारी गर्ने प्रयोजनका लागि सभामा प्रश्नावली निर्माण समिति गठनको प्रस्ताव प्रस्तुत हुन लागेको हो ।

गत मङ्गलबार बिहान संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले समितिको प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि प्रश्नावली निर्माण समिति गठनका निम्ति प्रस्ताव पेस गर्न सभाध्यक्ष सुवास नेम्वाङले नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई समय दिएपछि सभामा एनेकपा माओवादी र मधेसवादी दलका सभासद्बाट तोडफोड र नाराबाजी भएको थियो ।

मङ्गलबारदेखि सोही विषयलाई लिएर अवरुद्ध सभाको आजको कार्यसूची पनि सोही रहेको छ । सभासद् श्रेष्ठले संविधानसभा नियमावली, २०७० को नियम ९१ बमोजिम प्रस्तुत गर्ने उक्त प्रस्तावको नेकपा एमालेका सभासद् अग्निप्रसाद खरेलले समर्थन गर्नुहुनेछ ।

यसैबीच, कुनै पनि सभासद्ले असुरक्षित महसुस गर्न नपर्ने गरी सभाभवन परिसरमा प्रवन्ध मिलाइएको संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताउनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले विगतको घटनालाई ध्यानमा राखी सुरक्षा व्यवस्था चुस्त पारिएको जनाउनुभएको छ ।

प्रतिक्रिया