मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०८:०५
वासिङटन डिसी 21:20

महाकालीपारिका विद्यार्थी पुल नहुँदा विद्यालय जाँदैनन्

इनेप्लिज २०७१ माघ ८ गते २:१२ मा प्रकाशित

chadani-dodharaबेलौरी (कञ्चनपुर), ८ माघ । महाकालीपारि दोधारा–चाँदनीका विद्यार्थी नदीमा पक्की पुल नभएका कारण विद्यालय जानबाट वञ्चित छन् ।

विगत लामो समयदेखि सो बस्तीमा बसोवास गर्दै आएका स्थानीय तथा अभिभावक टेकबहादुर सुनारले भन्नुभयो, “नदीमा पुल नभएकाले धेरै विद्यार्थी वर्षात्मा विद्यालय नजाने गरेको र वर्षात्मा नदीको बहाव बढेर बाढी आउँछ, जोखिम मोलेर विद्यार्थी विद्यालय जाँदैनन् ।”

उहाँले पुल निर्माणका लागि सरकारसँग माग गरिए पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । “यहाँका विद्यार्थीलाई पढ्न दोधारा जानुपर्छ, बीचमा नदी छ, पुल छैन,” उहाँले भन्नुभयो, ‘नदीका कारण यहाँका अधिकांश विद्यार्थीबीचमै विद्यालय छोडेर भारतमा रोजगारीका लागि जाने गर्छन् ।”

पुलकै कारण धेरै विद्यार्थीले बीचमै विद्यालय छाड्ने गरेका छन्  । “भारतीय विद्यालयमा पढाउ भने आर्थिक अवस्था कमजोर छ, यता पढाउ भने नदीको समस्या छ,” उहाँले भन्नुभयो ।

उक्त क्षेत्रमा एउटामात्र विद्यालय छ । यहाँ पुल निर्माण नभए विद्यालय बन्द गर्नुपर्ने अवस्था आउने विद्यालयका शिक्षक बताउँछन् ।

यसैगरी महाकालीपारिका दोधारा–चाँदनीस्थित जोगबुढा नदीमा पक्की पुल नभएका कारण स्थानीयलाई समेत आवतजावत गर्न समस्या हुने गरेको छ । महाकाली नदीको मारमा परेका सो क्षेत्रका स्थानीयलाई भारतीय भूमिबाट बगेर आउने जोगबुढा नदीले समस्या ल्याएको हो । यहाँ स्थानीयलाई बस्तीको पूर्व र पश्चिममा रहेका दुई ठूला नदीले हरेक वर्ष सताउनुका साथै कैयौँ परिवारको विचल्ली समेत बनाएको स्थानीय जीतुसिंह खत्रीले जानकारी दिनुभयो ।

जोगबुढा नदीमा पक्की पुल नभएका कारण नेपालका तीन बस्ती झन मारमा परेका छन् । पुल नहुँदा दोधारा गाविसका कुतियाकबर, कन्जभोज र शान्ति टोलका झन्डै १०० घर परिवार समस्यामा छन् । सो नदीपारिका बस्ती भारतीय सीमा क्षेत्रसँग जोडिएका छन् । ती बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, बजार नभएका कारण पनि उनीहरु झन समस्या झेल्दै आएका छन् । बस्तीमा कुनै सुविधा नभएका कारण उनीहरुले जोढबुढा नदी तैरेर नेपाली बजारमा समाज खरिद गर्नुपर्ने बाध्यता छ । जसले उनीहरुको दैनिकी समेत झन कष्ठकर छ । वर्षायाममा नदीको बहाव बढेमा स्थानीय ओहोरदोहोर गर्न सक्दैनन् ।

हिँउद र गर्मीयाममा डुङ्गा प्रयोग गरेर उनीहरु तरेर आवतजावत गर्दछन् । भौगोलिक विकटता र प्राकृतिक प्रकोपका कारण यहाँका नागरिकको भविष्य अन्धकारमय भएको स्थानीय गुनासो गर्छन् ।

डुङ्गामा यहाँका विद्यार्थी नागरिक प्रतिव्यक्ति रु पाँच  तिरेर विद्यालय तथा आफ्नो गन्तव्यमा जान्छन् । यो यहाँका जनताको बाध्यता हो । “जोगबुडापारि पनि नेपाल र नेपाली छन्, भन्ने यहाँका नेताहरुलाई थाहा छैन,” स्थानीय टेक सुनारले भन्नुभयो, “अहिलेसम्म हाम्रो बस्तीमा कुनै नेता, कुनै पनि सरकारी कर्मचारी आएका छैनन्, हाम्रो पीडा कसैले पनि बुझिदिएन, हामीसँग नेपाली नागरिकता मात्रै छ, तर हामी नेपाली भएर सरकारले दिने सेवा सुविधाबाट वञ्चित छौँ ।”

जोगबुढा नदीमा पुल निर्माणका लागि परिषद्बाट समेत पुल निर्माण पास भए पनि कुनै पहल नभएको दोधारा–चाँदनी नगरपालिकाले जनाएको छ । नगरपालिका गाविस सचिव शेरबहादुर बुढाले जोडबुढा नदीमा पक्की पुलका लागि गाविस परिषद्बाट पास गरी जिल्ला परिषद्मा पठाएको बताउनुभयो । पुल निर्माणका लागि नदीमा बजेट धेरै लाग्छ, त्यति गाविससँगै हुँदैन, त्यसैले जिविसमा पठाएका छौँ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया