मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०२:४२
वासिङटन डिसी 16:57

आन्दोलन छाडेर संवाद र सहमतिमा आउनोस्ः अध्यक्ष ओली

इनेप्लिज २०७१ माघ ७ गते १४:०७ मा प्रकाशित

Kp-oliभक्तपुर, ७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन र सडकमा आन्दोलन गरिरहेका दलहरुलाई आन्दोलन छाडेर संवाद र सहमतिमा आउन आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी नेपालले आज भक्तपुरको बालकोटस्थित ओली निवासमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले सहमतिका लागि संवाद र छलफलको ढोका खुल्ला रहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “बन्द र आन्दोलन दुःख पाउनु मात्र हो, सडक छोडेर संवाद र छलफलमा आउनुस् ।”

अझै पनि सहमति मै संविधान जारी गर्ने प्रयत्न भइरहेको बताउँदै उहाँले माघ ८ गते संविधानसभाको कार्यतालिकाको समय सकिएपनि संविधान निर्माण भने नरोकिने बताउनुभयो ।

संविधानसभाले अर्को कार्यतालिका बनाउन सक्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “कार्यतालिका सकिए पनि संविधानसभा सकिएको होइन, आवश्यक परे अर्को कार्यतालिका बनाएर संविधान निर्माण गर्न सकिन्छ, कार्यतालिकामा हेरफेर हुँदैमा संविधान निर्माण रोकिँदैन, यो संविधानसभा सफल हुन्छ ।”

तराई र पहाडलाई टुक्रयाउने र झगडा पार्ने, जातजातिबीच झगडा पार्ने, राष्ट्रिय एकता खलबलिने, सामाजिक सद्भाव बिथोल्ने कुरामा कुनै सहमति हुन नसक्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “लोकतान्त्रिक विधिविरुद्ध कुनै नाम वा बहानामा अलोकतान्त्रिक विधि मान्य हुदैन । शान्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र समृद्धिका लागि संविधान जारी हुनै पर्छ ।”

सहमतिका चारबुँदा

सहमतिका चारबुँदा प्रस्तुत गर्दै अध्यक्ष ओलीले भन्नुभयो – संविधान ल्याउन पहिलो दुईतिहाई बनाउने सहमति, दोस्रो त्यो सङ्ख्यालाई अत्यधिक बनाउने सहमति, तेस्रो संविधानसभाभित्र रहेका दलसँग सबैलाई सहमतिमा ल्याउने प्रयासको सहमति र चौथो संविधानसभा बाहिर रहेका दलसँग पनि सहमति खोज्ने प्रयास हो ।

जनता र देशको भलाइमा हुने कुनैपनि विषयमा सहमति हुने बताउँदै उहाँले कसैको सनक पूरा गर्ने विषयमा सहमति नहुने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “संविधान बन्न नदिन ३० दलीय मोर्चाबाट ३३ दलीय, ६३ दलीय हुँदै अहिले १०५ दल पु¥याएका छन्, यो माओवादीले जन्माएको दुनियाँभरको प्रेत र मसान हो, यसलाई जगाएपनि यो निभाउन एमाओवादीलाई नै सास्ती पर्छ ।”

एकदलीय एकतावाद, प्रतिगमन लाद्ने, तानाशाहतर्फ लाने सपना कसैले देख्छ भने त्यो स्वीकार्य नहुने बताउँदै उहाँले अझैपनि आफूहरु आवेश र उत्तेजनामा नआई सहमतिका साथ संविधान निर्माण गर्ने पक्षमा रहेको बताउनुभयो ।

आफूमाथिको आक्रमण सुनियोजित

सोमबार राति संविधानसभामा आफूमाथि भएको आक्रमण सुनुयोजित र लामो समयदेखिको योजना भएको प्रष्ट भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “दिनभर छलफल र सहमति गर्ने भन्दै अल्झाएर रात पारे, किन रात पारे होलान् भनेको त आक्रमण गर्न पो रहेछ, उनीहरुले मलाई हानेको चारवटा माइकमध्ये एउटाले मलाई लाग्यो, अर्कोले विद्या भण्डारीलाई लाग्यो, तेस्रो सभासद् ऋषि पोखरेललाई लाग्यो र अर्को भूइँमा खस्यो ।”

माओवादीको व्यवहारप्रति व्यङ्ग्य गर्दै अध्यक्ष ओलीले ‘गोरु नाङ्गै देखेर मलाई लाज लागेको छैन, यी कुन ग्रहबाट आएजस्ता, हेर्दा मान्छे जस्तै तर तमासा धेरै, म माथि त आक्रमण गरे गरे, सभामुखमाथि नै आक्रमण गर्ने र संविधानसभालाई शत्रुता ठान्ने यो कस्तो तमासा रु’ भन्नुभयो ।

‘प्रधानमन्त्रीको कुर्सीमा ध्यान छैन’

अर्को एक फरक प्रसङ्गमा अध्यक्ष ओलीले आफ्नो ध्यान प्रधानमन्त्रीको कुर्सीमा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो उद्देश्य कुर्सी होइन, कुर्सीतिर मेरो ध्यान छैन, मैले कुर्सीलाई हेरेको पनि छैन, मेरो ध्यान संविधान निर्माणतिर छ, यता जाऊ कि उता जाऊ, यो पाइन्छ कि त्यो भन्ने पदको लोभ मलाई छैन ।”

कार्यक्रम प्रेस चोतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया