बन्दमा प्रेसमाथि भएको आक्रमणप्रति पत्रकार महासङ्घको निन्दा

इनेप्लिज २०७१ माघ ६ गते १४:०२ मा प्रकाशित

Gadima aagjani

काठमाडौँ, ६ माघ । नेपाल पत्रकार महासङ्घले एकीकृत नेकपा माओवादीसहितका संविधानसभाका प्रतिपक्षी दलहरूसम्वद्ध मोर्चाको आह्वानमा आज भएको बन्दमा प्रेसलाई लक्षित गरी आक्रमणप्रति निन्दा गरेको छ ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जारी गरेको प्रेस विज्ञप्तिमा प्रेसलाई लक्षित गरी सवारी साधन तोडफोड गर्ने, पत्रकारलाई धम्की दिने तथा दुव्यवहार गर्नुका साथै कान्तिपुर दैनिकको पत्रिका लिएर गएको बा ३ च ५८५० नम्बरको गाडी, कान्तिपुर दैनिककै न्यूजप्रिन्ट बोकेर वीरगञ्जबाट भरतपुर आउँदै गरेको ना ३ ख ३५८६ नम्बरको ट्रक चितवनको भरतपुरमा आगजनी गरेको प्रति भत्र्सना गरिएको छ ।

त्यस्तै, महासङ्घले बन्दकर्ताले बबरमहलमा माउन्टेन टेलिभिजनको वा ९ च १९३३ नम्बरको गाडी तोडफोड गर्नुका साथै उक्त टेलिभिजनका क्यामेरापर्सन सृजना कुँईकेल र सम्वाददाता शर्मिला थापालाई दुव्र्यवहार गरेको, सोही टेलिभिजनको समाचार प्रमुख सूर्य खड्का, प्रस्तोता रोहित भण्डारी र चालक रुपक श्रेष्ठमाथि कार्यालय आउँदै गरेको अवस्थामा आक्रमण गरेकोप्रति विरोध गरेको छ ।

साथै, बन्दकर्ताले समाचार सङ्कलनका क्रममा बबरमहलमै राष्ट्रिय समाचार समिति सम्वाददाता भीष्म ओझालाई हातपात, गालीगलौज गर्दै भ्वाईस रेकर्डर नियन्त्रणमा लिएको, एसोसिएट प्रेसका पत्रकार उपेन्द्रमान सिंह र हिमाल खबरपत्रिकाकी फोटो पत्रकार देवकी विष्ट र न्यूज अभियानका प्रधानसम्पादक छायाँचन्द्र भण्डारीमाथि वन्दकर्ताले दुव्र्यवहार भएको घटनाप्रति पनि महासङ्घले निन्दा गरेको छ ।

यसैबीच, मानव अधिकार पत्रकार सङ्घ हुर्जाले एनेकपा माओवादीलगायतको ३० दलीय मोर्चाले गरेको नेपाल बन्दका क्रममा देशका विभिन्न ठाउँमा समाचार सङ्कलनका लागि खटिएका पत्रकारमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका अध्यक्ष छत्र शङ्करले जारी गरेको प्रेस विज्ञप्तिमा बन्दका क्रममा घाइते पत्रकारको उपचार तथा क्षति भएको भौतिक साधनको क्षतिपूर्ति दिनसमेत सम्बन्धित पक्षसँग माग गर्नुका साथै जुनसुकै परिस्थितिमा पनि पत्रकार सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको छ ।

संविधानसभामा भएको घटनाबारे विरोध

संविधानसभामा सोमबार भएको घटनाप्रति विभिन्न राजनीतिक दलमा आबद्ध युवा सङ्घसंस्थाले विरोध गरेका छन् ।

युवा सङ्घ नेपालका कार्यवाहक अध्यक्ष निरु पाल, नेपाल तरुण दलका अध्यक्ष उदयशम्सेर राणा र राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्याभण्डारीलगायतमाथि भएको सो आक्रमणको निन्दा गरेको छ ।

त्यस्तै, नेकपा मालेले सोमबार राति संविधानसभामा भएको तोडफोड र आक्रमणकारी कृत्यको घोर निन्दा एवम् भत्र्सना गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै महासचिव सिपी मैनालीले बाह्य तत्वको रणनीतिमा देशलाई विघटनतर्फ धकेल्न उद्यत एमाओवादी र उसको नेतृत्वको मोर्चाले आफ्ना गलत प्रस्थापनाहरु जबर्जस्ती थोपर्न पाए संविधान बनाउने, अन्यथा संविधाननै बन्न नदिने गरी गरिएका हर्कतहरु अलोकतान्त्रिक भएको बताउनुभएको छ ।

यसैगरी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभामा गएराति भएको घटना आपत्तिजनक र निन्दनीय भएको प्रतिक्रिया दिनुभएको छ । आफ्नै निवासमा आज रासससँग कुराकानी गर्दै उहाँले संविधानसभामा भएको घटनाले संसदीय व्यवस्थाकै उपहास गरेको बताउँदै घटनाप्रति खेद व्यक्त गर्नुभयो ।

त्यस्तै, मानव अधिकार तथा शान्ति समाज र नेपाल राष्ट्रिय शिक्षक संगठनले पनि गएराति संविधानसभामा भएको तोडफोडको निन्दा गरेका छन् ।

प्रतिक्रिया