शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०१:२०
वासिङटन डिसी 15:35

अराजक व्यवहार भयोःगृहमन्त्री

इनेप्लिज २०७१ माघ ६ गते २:४३ मा प्रकाशित

bamdaveकाठमाडौँ, ६ माघ । संविधानसभा भवन नयाँ बानेश्वरमा एकीकृत नेकपा माओवादीलगायत दलले देखाएको व्यवहारलाई उपप्रधानमन्त्री वामदेव गौतमले जङ्गलीको संज्ञा दिनुभएको छ ।
संविधासभा बैठक अवरुद्ध भएपछि सञ्चारकर्मीलाई प्रक्रिया दिँदै उहाँले संविधानसभा भवनभित्र भएको ‘अराजक व्यवहार’ इतिहासकै महान भूल भएको र त्यसमा संलग्नहरु जङ्गली भएको बताउनुभयो ।
परिवर्तनका नाममा १५ हजारभन्दा बढी नागरिकको बलिदान गरेको बताउने पक्षबाट त्यस खालको व्यवहार प्रदर्शन हुनु कुनै पनि हालतमा ग्राह्य विषय नभएको उहाँको भनाइ थियो ।
सङ्घीयताकै नाममा जनतालाई अधिकार दिन नचाहने र त्यसलाई खण्डित गर्ने ध्येयका साथ त्यस खालको व्यवहार संविधानसभा भवनभित्र प्रदर्शन भएको गृहमन्त्री गौतमको कथन थियो । नेकपा एमालेका उपाध्यक्ष गौतमले आफूहरु जस्तालै तस्तै गर्ने पक्षमा नभएको र मिलेरै संविधान जारी गर्न प्रतिबद्ध रहेकोसमेत बताउनुभयो ।
नेपाली काँग्रेसका सभासद् गगनकुमार थापाले राजनीतिक राजनीतिक विषय विवाद र बहस हुनु सामान्य भए पनि तोडफोडमा उत्र्नु भने गलत भएको प्रतिक्रिया दिनुभयो । उहाँले जनआन्दोलनका भावनाअनुसार सहमतिकै आधारमा संविधान निर्माण प्रक्रिया अझै पनि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “विवाद हुनसक्छ, त्यसको उचित निरुपण गरिनुपर्छ, काँग्रेस त्यसका लागि प्रतिबद्ध छ तर भौतिक हमला र आक्रमणको विषय भने क्षम्य हुनु सक्दैन”–थापाले भन्नुभयो ।
हामी सहमतिकै पक्षमा छौँःएमाओवादी
एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङलाई जबर्जस्ती प्रक्रियामा नलैजान आग्रह गरिए पनि उहाँले अस्वीकार गरेका कारण दुःखद घटना भएको प्रतिक्रिया दिनुभयो । उहाँले संविधानसभाभित्र बहुमत र अल्पमत नहुने सर्वमान्य सिद्धान्तलाई लत्याउन खोज्दा अकल्पनीय स्थिति उत्पन्न भएको स्पष्टीकरण दिनुभयो ।
आफूहरु अझै पनि सहमतिकै आधारमा संविधान निर्माण प्रक्रिया अघि बढोस् भन्ने पक्षमा रहेको प्रमुख सचेतक पोखरेलको भनाइ थियो ।

प्रतिक्रिया