राप्रपा नेपालः चौथो शक्तिमा स्थान दिन माग

इनेप्लिज २०७१ माघ ५ गते १५:४९ मा प्रकाशित

kamal thapaकाठमाडौँ, ५ माघ । राष्ट्रपति डा रामवरण यादवसँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आज भेटी आफ्नो दललाई चौथो शक्तिका रुपमा उचित स्थान दिनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा थापाले जनताको शान्ति र समृद्धिको चाहनालाई पूरा गर्न सहमति र विधिबाट संविधान जारी गर्न सुझाव दिएको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो । सो अवसरमा संविधान निर्माणमा देखिएको गतिरोध फुकाउनका लागि विधि र प्रक्रियाका विषयमा छलफल भएको जनाइएको छ ।

सडक र सदनबाट सक्रियता
दलको आज बसेको काठमाडौँ उपत्यका समन्वय समितिको बैठकले निर्धारित समयमा संविधान नआएमा विवादित विषयलाई जनमतसङ्ग्रहबाट टुङ्गो लगाउनुपर्ने निर्णय गरेको छ । नयाँ बन्ने संविधानमा दलको राजनीतिक कार्यसूचीलाई स्थापित गर्न सडक तथा सदन दुवैतर्फ सक्रियता बढाउने निर्णय भएको केन्द्रीय सदस्य अञ्जना शाहले जानकारी दिनुभयो ।

निषेधको राजनीति गरिएमा विकल्पका रुपमा सङ्घर्षका बाटालाई अवलम्बन गर्न कार्यकर्तालाई अध्यक्ष थापाले निर्देशन दिनुभएको बताइएको छ ।

प्रतिक्रिया