शनिबार, मंसिर १३ २०७७
काठमाडौं २३:०१
वासिङटन डिसी 12:16

वैदेशिक रोजगारीको क्रममा छ महिनामै ४६१ नेपालीको मृत्यु

इनेप्लिज २०७१ माघ ५ गते १०:४४ मा प्रकाशित

migrant-labour-employmentकाठमाडौँ, ५ माघ । वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा वृद्धिभएसँगै विदेशिएका नेपाली कामदारको ती मुलुकमा मृत्युको सङ्ख्या पनि बढ्न थालेको छ । यस आर्थिक वर्षको सुरुको छ महिनामै ४६१ जना नेपालीको मृत्यु भएको हो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यो अवधिमा सबैभन्दा बढी मलेसियमा २०७ जनाको मृत्यु भएको छ । त्यसैगरी, साउदी अरबमा १२८, कतारमा ६९ , दुबईमा २७, कुवेतमा, १५, बहराइनमा ६, दक्षिण कोरियामा तीन र जापान, ओमान, रुसमा एक÷एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ४५८ पुरुष र तीन जना महिला छन् ।

तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ७७ जनाको विदेशी भूमिमै मृत्यु हुने गरेको छ । यसमा रोजगारीबाहेक पढ्न र अन्य कार्यको क्रममा विदेशमा मृत्यु भएका नेपाली समावेश गरिएको छैन ।

यस बाहेक पनि ठूलो सङ्ख्यामा भारतमा र भारत हुँदै अवैधानिकरुपमा तेस्रो मुलुकमा विदेशिएका नेपालीको मृत्यु हुने गरे पनि त्यसको तथ्याङ्क नेपाल सरकारसँग छैन । अवैधानिकरुपमा गएकाहरूको स्वदेशमा शव ल्याउन समेत अप्ठयारो पर्ने गरेको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार चालु आवको छ महिनामा प्राकृतिक मृत्युका कारण ११९ जना, सुतिरहेको अवस्था (कार्डियाक अरेस्ट) का कारण ११८, आत्महत्याका कारण ५४ जना, कार्यक्षेत्रमा काम गर्दै गर्दा ५२ जना, सडक दुर्घटनाका कारण ४६ र हृदयाघातका कारण ३३ जनाको मृत्यु भएको छ ।

विदेशी रोजगारदाताले दिएको विवरणको आधारमा यो तथ्याङ्क तयार पारिए पनि यथार्थमा भने अधिकांश कामदारको मृत्यु कामको सिलसिलामै हुने गरेको छ ।

सडक दुर्घटनाका कारण मृत्यु भएका र कार्यक्षेत्रमा काम गर्दै गर्दा मृत्यु भएका कामदारलाई मात्रै रोजगारदाता र त्यहाँको सरकारबाट क्षतिपूर्ति दिने प्रावधानका कारण रोजगारदाताले ती कारण मृत्यु भएकालाई पनि अन्य कारण मृत्यु भएको भनी क्षतिपूर्ति दिन नमानेको देखिएको छ ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लले कार्यस्थलमै व्यस्त रहने मजदुरको अन्य कारण मृत्यु हुने सम्भावना न्यून हुने भएकाले विदेशी रोजगारदाताले पठाएको विवरणलाई शङ्कास्पद रहेको बताउनुहुन्छ ।

बोर्डको वार्षिक कार्यक्रम मै यो विषयलाई समावेश गरी मृत्युको कारण र उनीहरुलाई दिइने क्षतिपूर्तिका लागि पहल गर्ने कार्यक्रम बनाइएको उहाँले जानकारी दिनुभयो ।

वैदेशिक कामदारको रुपमा दुबईमा लामो समय काम गर्नुभएका रमेश गिरी कार्यक्षेत्रमा काम गर्दागर्दै धेरै कामदारको मृत्यु हुने गरेपनि कानुनी झन्झट पनि ब्यहोर्न नपर्ने र क्षतिपूर्ति पनि दिन नपर्ने भएका कारण रोजगारदाताले सुतिरहेको अवस्था (कार्डियाक अरेस्ट) र प्राकृतिक मृत्यु जस्ता कारण भएको कागजात तयार पार्ने गरेको बताउनुहुन्छ ।

वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली दिनभर घाममा काम गर्नुपर्ने, ठूला–ठूला घर बनाउँदा भारी बोक्ने, अग्ला ताडीको रुखमा गएर ताडी काट्ने, उद्योगमा ग¥हुङ्गो वस्तु बोक्ने, गर्मी वातावरणमा अनकन्टार क्षेत्रमा गएर भेँडा चराउने जस्ता जोखिमपूर्ण काम गर्ने गरेका छन् ।

त्यसरी काम गर्दा मृत्यु भएकालाई रोजगारदाता सङ्घ संस्थाले रक्सी खाएर मृत्यु भएको, प्राकृतिक रुपमै मृत्यु भएको जस्तो बहाना बनाएर सोहीअनुरुपको ‘मेडिकल रिपोर्ट’ तयार पार्न लगाउने गरेको कामदार गिरीको अनुभव छ ।

मृत्यु भएका कामदारको पक्षमा बोलिदिने, कानुनी लडाइँमा सहयोग गर्ने र प्रहरीमा उजुरी हाल्ने कोही नहुने भएकाले रोजगारदाता संस्थाले मृत्युको अन्य कारण देखाएर क्षतिपूर्ति दिने आफ्नो दायित्वबाट भाग्ने गरेका छन् ।

मृतकलाई जस्तै कामकै सिलसिलामा घाइते भई अङ्गभङ्ग भएकालाई रोजगारदाता संस्थाले क्षतिपूर्ति दिनुपर्ने प्रावधान भए पनि अधिकांश नेपाली कामदारले चेतनाको अभावमा त्यस्तो क्षतिपूर्ति पाउने गरेका छैनन् । मागिहाले पनि निकै थोरै रकम लिएर चित्त बुझाउने गरेका छन् ।

बोर्डले वैधानिकरुपमा वैदेशिक रोजगारीमा गएकाको मृत्यु भएमा परिवारलाई तीन लाख र मृतकको एक छोरा वा छोरीलाई विद्यालय तहको शिक्षा निःशुल्क पढाउन छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।

त्यस्तै अङ्गभङग भएका र कडा रोग लागेकालाई रु तीन लाखसम्म सहायता दिने गरेको छ । यसअघि रु डेढ लाखमात्रै सहायता दिने गरिएकामा गत असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले रु तीन लाख बनाउने निर्णय गरेको थियो । यी सुविधाबारे पर्याप्त जानकारी नहुँदा कतिपय मृतकका परिवार र अङ्गभङ्ग भएका कामदार सहायता लिन बोर्डसम्म पुग्ने नगरेको कार्यकारी निर्देशक काफ्ले बताउनुहुन्छ ।

चालु आवको छ महिना अवधिमा बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका र अङ्गभङ्ग भएकालाई रु सात करोड ५४ लाख सहयोग दिएको छ ।

बोर्डले तथ्याङ्क राख्न सुरु गरेयता २०६४ सालदेखि हालसम्म तीन हजार ७७१ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ । यसमा सबैभन्दा बढी मलेसियामा एक हजार ३४०, साउदी अरबमा एक हजार १५, कतारमा ८२०, युएई ९दुबई०मा २९६, कुवेतमा १११ जनाको मृत्यु भएको छ ।

बहराइनमा ५५, दक्षिण कोरियामा ४५, ओमनमा ३७, लेबननमा २०, जापान, अफगानिस्तानमा र इजरायलमा सात÷सात रुसमा तीन, श्रीलङ्कामा दुई र माल्दिभ्स, लिबिया, जर्मनी, अमेरिका र पपुवा न्यूगिनीमा एक÷एक जना नेपाली कामदारको मृत्यु भएको छ ।

नेपालबाट प्रत्येक वर्ष पाँच लाखको हाराहारीमा युवा रोजगारीका लागि विदेशिने गरेका छन् । राम्रो कमाइ गरी घर परिवारलाई राहत दिने उद्देश्यसहित विदेशिएका युवाको ठूलो सङ्ख्यामा कमाइको साटो नेपालमा शव मात्रै फर्कने गरेको छ ।

प्रतिक्रिया