शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं १२:५१
वासिङटन डिसी 03:06

भाषा भुल्दै गए सोलुखुम्बुका शेर्पाले

इनेप्लिज २०७१ माघ ४ गते ९:५७ मा प्रकाशित

serpa-p_20140314121201सल्लेरी (सोलुुखुम्बु), ४ माघ । नेपालको इतिहासमा आफ्नो भाषा, धर्म र संस्कृतिलाई जोगाउनका लागि कतिपय जातजाति लागिपरेका छन् भने कतिपयले आफ्नो भाषा र संस्कृति भुल्दै गएका छन् ।

शेर्पा जातिको मुख्य बसोवास रहेको सोलुखुम्बु जिल्लामा कतिपय शेर्पा जातिका मानिसले आफ्नो मातृभाषा भुलिसकेको बताएका छन् । नेपालमा रहेका थुप्रै जातजातिले भाषा संस्कृति जगेर्नामा लागिरहँदा जिल्लाको अधिकांश गाविसमा बसोवास गर्ने शेर्पा जातिले भाषा विस्तारै भुल्न थालेका छन् ।

सोलुखुम्बुको सदरमुकाम तथा आसपासमा बसोवास गर्ने शेर्पाले घर परिवारमा आफ्नो भाषा प्रयोग नगरेका कारण भाषा भुल्दै गएका र बालबालिकाले समेत भाषा नजानेको च्याल्सा गुम्बाका आङ्गबाबु शेर्पाले बताउनुभयो ।

भाषा प्रयोगमा पछिल्लो पुस्ताले हिनताबोध गर्नुले भाषा लोप भएको दूधकुण्ड नगरपालिका–५ की पासाङ फुटी शेर्पाले थप्नुभयो ।

शेर्पा जातिले बोल्ने भाषामा कमी आउनुको मुख्य कारण समुदायमा जातजातिको मिश्रित बसोवास र विद्यालयमा अङ्ग्रेजी र नेपाली भाषामा मात्र पठनपाठन हुने भएकाले भाषा लोप भएको सल्लेरीका युवा दावा बाङ्छु शेर्पाको भनाइ छ ।

त्यस्तै, सल्लेरीका ङिमा शेर्पाले भन्नुभयो, “घरपरिवारमा मातृभाषा नबोल्नु, साथीभाइसँगको भेटघाटमा नेपाली भाषा प्रयोग गर्नुले शेर्पाहरुले भाषा भुल्दै गएको हो ।”

यसरी भाषा प्रयोगमा कमी आउँदै जाने र भाषा बिर्सिँदै जाने हो भने पहिचान दिन गाह्रो हुने अघिल्ला पुस्ताका शेर्पाको ठम्याई छ । बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको मुलुकमा भाषा संरक्षणमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया