बुधबार, कार्तिक ५ २०७७
काठमाडौं १५:४२
वासिङटन डिसी 05:57

संविधान निर्माणमा प्रक्रिया र सहमति सँगसँगै

इनेप्लिज २०७१ पुष ३० गते १४:४८ मा प्रकाशित

Sapath

काठमाडौँ, ३० पुस । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा (एमाले) नयाँ संविधान निर्माणका लागि प्रक्रिया र सहमतिलाई सँगसँगै अगाडि बढाउन सहमत भएका छन् ।

दलहरुले संविधानसभाको निर्वाचनमा एक वर्षभित्र संविधान जारी गर्न बाचा गरेको निर्धारित मिति आउन ८ दिन मात्र बाँकी रहेको बेला आज काँग्रेस र एमालेले प्रक्रियाबाटै संविधान निर्माण गर्ने र त्यस अवधिमा विपक्षी दलहरुसँग सहमतिको प्रयास पनि जारी राख्ने बताएका हुन् ।

बालुवाटारमा आज बसेको दुवै दलका शीर्षनेताको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा बुझाएको प्रस्तावलाई प्रक्रियाबाटै अगाडि बढाउने र निर्धारित समयमा नै संविधान जारी गर्ने सहमति गरेको नेताहहरुले बताएका छन् ।

बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि निरन्तर सात वर्ष बितेको जानकारी गराउँदै पछिल्लो एक वर्ष त झन् सघन वार्ता र सहमतिको प्रयास भए पनि उहाँहरु (विपक्षीहरु) सहमतिमा नआएको बताउनुभयो । सहमतिका लागि अझै पनि प्रयास गरिने भए पनि राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा भने आफूहरु प्रतिवद्ध रहेकाले यसमा कुनै पनि लेनदेन नहुने उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले आफूहरु प्रक्रियाबाट भए पनि निर्धारित मिति माघ ८ गते नै संविधान जारी प्रतिबद्ध रहेको तर संविधानसभा निर्वाचनमा त्यही वाचा गरेका केही दल अहिले संविधानसभाबाहिरका दलसँग मिलेर सडक तताउन र संविधान बन्न नदिनेमा अघि बढेको आरोप लगाउनुभयो ।

बैठकमा दुबै दलबीच बिहीबार बस्ने संविधानसभाको बैठकमा संवाद समितिले संविधानसभामा पेस गरेको प्रतिवेदनमाथिको छलफललाई कसरी अगाडि बढाउने र कति समय दिने भन्ने बारेमा छलफल भएको थियो ।

नेताहरुबीच निर्धारित समयमा नै संविधान जारी गर्नका लागि संविधानसभा नियमावलीमा भएका प्रावधानलाई छोट्याएर फास्ट ट्र्याकबाट अघि बढ्ने बारेमा छलफल हुनुका साथै शीर्षनेताहरुले समामुख सुवास नेम्वाङसँग परामर्श गरी प्रक्रियालाई अघि बढाउने सम्बन्धमा सहमति भएको छ ।

पूर्वप्रधानमन्त्री तथा काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेस–एमालेबीच यसअघि पेस गरेको साझा प्रस्तावका आधारमा अघि बढ्ने सहमति भए पनि अझै आफू अन्तरिम संविधान, २०६३ लाई नै परिमार्जन गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको धारणा राख्दै भन्नुभयो–“मधेसी र एमाओवादी पक्षले हारेको महसुस भयो भने राजनीतिमा तीक्तता उन्पन्न हुन्छ, अन्तरिम संविधान सबै दलको सहमतिमा बनेकाले सहमतिका लागि यो उपयुक्त हुनसक्छ ।”

अन्तिम समयसम्म पनि विपक्षी दलहरु सहमतिमा नआएकाले काँग्रेस एमालेका सामु प्रक्रियामा जानुको विकल्प नरहेको बताउँदै नेता देउवाले भन्नुभयो–“विपक्षी दलहरुले आफ्नो प्रस्तावमा सहमति जनाए आफ्नो पार्टीलाई मनाउन सक्छु, र त्यसपछि एमालेलाई पनि दबाब पर्छ ।”

संविधानसभाको बैठकमा मङ्लबार संवाद समितिले पेस गरेको प्रतिवेदनमा असहमतिका विषयमा विषयगत रूपमा दल र सभासद्बाट प्रस्तुत भएका विभिन्न विचार र वैकल्पिक प्रस्तावमा समितिबाट निर्धारित विधिअनुरूप गहन छलफल भई कतिपय विषयमा सहमति नजिक पुगेको भए तापनि संविधानका मुख्य अन्तर्वस्तुका विषयमा सहमतिमा पुगी टुङ्गो लाग्न नसकेको व्यहोरा उल्लेख छ । प्रमुख राजनीतिक दलबीच खासगरी सङ्घीयता, शासकीय स्वरूप  तथा निर्वाचन र न्यायप्रणालीका विषयमा मतभेद छ ।

संविधान निर्माणको कार्य प्रक्रियमार्फत अघि बढे पनि सहमतिको प्रयास अन्तिम समयसम्म जारी रहने सहमति भएको बताउँदै पूर्वप्रधानमन्त्री तथा एमालेका नेता माधवकुमार नेपाल भन्नुभयो– “मिल्ने कुरामा मिलनबिन्दु खोजाँै र मिल्न नसक्ने विषयमा फरक मत राखेर संविधान जारी गरौँ ।”

प्रतिपक्षी दलहरुको अनुपस्थितिमा संविधानसभाको बैठक गरेर सहमति कसरी हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता नेपालले प्रतिप्रश्न गर्नुभयो–“कसैले आह्वान गरेको बन्द हडतालको आधारमा संविधानसभाको बैठक स्थगित हुन्छ ?”

त्यस्तै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणको कार्यसँगै विपक्षी दलहरुसँग सहमतिको प्रयास पनि जारी रहने बताउँदै आफूहरुको प्रस्तावमा मधेसी, जनजाति तथा एमाओवादीले उठाउँदै आएका सबै मुद्दा समेटिएकाले कसैले डराउनुपर्ने अवस्था नभएको दाबी गर्नुभयो ।

उपसभापति पौडेलले सो प्रस्ताव यसअघि नै डा बाबुराम भट्टराई नेतृत्वको संवाद समितिले संविधानसभामा पेश गरिसकेकाले अब त्यसमा भोटिङ र निर्णय गरेर मस्यौदा समितिमा पठाउने र मस्यौदा समितिले चार÷पाँच दिनमा तयार गर्ने जानकारी गराउनुभयो ।

काँग्रेस, एमालेलगायतका दलहरु प्रक्रियामा गएर भए पनि निर्धारित मितिमा नै संविधान जारी गर्न अघि बढेका बेला एकीकृत नेकपा (माओवादी) नेतृत्वको मोर्चाले भने बन्द कार्यक्रम आयोजना गरेर मङ्गलबार भएको संविधानसभा बैठक बहिष्कार गरेको थियो ।

प्रतिक्रिया