नक्कली शैक्षिक प्रमाणपत्रका एक हजार सातसय उजुरी अख्तियारमा
काठमाडौँ, ३० पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतासँगै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी निकायमा जागिर खाने एक हजार सातसय कर्मचारीविरुद्ध आयोगमा उजुरी परेको छ ।
सबैभन्दा बढी शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरी आयोगमा परेको छ । शिक्षकपछि क्रमशस् प्रहरी, संस्थान र निजामति प्रशासनका कर्मचारीविरुद्घ उजुरी परेको छ ।
सबैभन्दा बढी शिक्षकमा र सबैभन्दा कम निजामति कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको उजुरी परेको आयोगका सहप्रवक्ता केशव घिमिरेले जानकारी दिनुभयो ।
पछिल्लो समयमा नक्कली प्रमाणपत्रको उजुरीबारे आयोगले छानविन सुरु गरेयताको दुई महिनामा मात्रै एक हजार भन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । तीनसयभन्दा बढी वनरक्षकले राजीनामा दिएका छन् भने अन्य सरकारी निकायमा पनि राजीनामा दिनेको लर्को लागेको छ ।
आयोगले पहिलो चरणमा शिक्षकहरूका प्रमाणपत्रबारे छानविन सुरु गरेपछि शिक्षकले राजीनामा दिने क्रम बढेको हो । स्वदेश र विदेशी विद्यालय तथा विश्वविद्यालयबाट शिक्षा हासिल गरेका शंकास्पद सबै शिक्षकको प्रमाणपत्रबारे आयोगले छानविन गरिरहेको छ ।
यसै आर्थिक वर्षको सुरुका छ महिनामै नक्कली प्रमाणपत्र लिने पचासभन्दा बढी व्यक्तिविरुद्ध आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिसकेको छ ।
राजीनामा दिनेहरूले पारिवारिक कारण, स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिने गरेको देखिएको छ । राजीनामाको कारण नक्कली प्रमाणपत्र हो कि व्यक्तिगत हो यसै भन्न नसकिएपनि छानविन सुरु भएलगत्तै राजीनामा दिनुले आशङ्का उत्पन्न गराएको सहप्रवक्ता घिमिरे बताउनुहुन्छ ।
आयोगमा उजुरी परेपछि राजीनामा दिने कर्मचारीको हकमा भने राजीनामापछि पनि छानविन जारीनै रहने उहाँले जानकारी दिनुभयो । तर उजुरी नपरेकाहरूले राजीनामा दिएको विषयमा भने आयोगले छानविन गरेको छैन ।
उजुरी नपर्दै राजीनामा दिनेका विषयमा भने आवश्यकता अनुसारमात्रै छानविन गर्ने गरेको तर राजीनामा दिने सबैको छानविन नगरिएको उहाँले बताउनुभयो । अहिले राजीनामा दिएका अधिकांशविरुद्ध उजुरी नपरेकाले उनीहरू कारबाहीबाट बच्ने अवस्था छ ।
आयोगका अनुसार डाक्टर, पाइलट, इञ्जिनियर, प्राध्यापक जस्ता उच्च ओहदाका निकायदेखि सुरक्षा निकाय र निजामती सेवाका उच्च निकायमा रहेका पदाधिकारीविरुद्धसमेत नक्कली प्रमाणपत्र लिएको उजुरी आयोगमा परेको छ ।
छानविनकै क्रममा आयोगले नेपाल वायुसेवा निगममा कार्यरत क्याप्टेन दीपेन्द्र प्रधान नक्कली प्रमाणपत्रको आधारमा सेवामा प्रवेश गरेको खुलेपछि उनीविरुद्ध गत कात्तिक १९ गते विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । उनै प्रधानले चलाएको नेपाल वायुसेवा निगमको जहाज एक वर्षअघि जोमसोममा दुर्घटनाग्रस्त हुँदा सात जना घाइते भएका थिए ।
आयोगले छानविनलाई तिव्रता दिएसँगै नक्कली प्रमाणपत्र लिई जागीर खानेहरू धमाधम राजीनामा दिन थालेका छन् । यसले अब सरकारी निकायमा नक्कली प्रमाणपत्रधारीको उपस्थिति रहने सम्भावना न्युन भएको छ ।
उजुरी नपर्दै राजीनामा दिनेविरुद्ध कारबाहीको स्पष्ट कानुनी व्यवस्था नहुँदा र आयोगले पनि त्यसमा चासो नदिँदा नक्कली शैक्षिक प्रमाणपत्रधारीले फाइदा लिइरहेका छन् ।
नक्कली प्रमाणपत्रधारीहरूले राजीनामा दिने क्रम बढेसँगै सरकारी निकायले अब त्यस्ता व्यक्तिहरूबाट उन्मुक्ति पाउने अवस्था देखिएको छ ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया