बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं २०:१४
वासिङटन डिसी 10:29

माघीमा रम्दैछन् दाङका थारुबस्ती

इनेप्लिज २०७१ पुष ३० गते ३:०६ मा प्रकाशित

dagaura-tharu_तुलसीपुर (दाङ), ३० पुस । युवतीहरू घर लिपपोतमा व्यस्त छन्, पुरुषहरू माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा गरिएका छन् । यो दृश्य यहाँका  प्राय सबै थारु बस्तीमा देख्न सकिन्छ । थारु जातिको महान् पर्व माघीको रौनक अहिले यहाँका थारु बस्तीमा अझै बढेको छ ।

थारु गाउँमा माघी आउन अब एकदिन मात्र रहँदा मङ्गलबार दिउँसो देखिएको दृश्य हो । थारु गाउँमा थारु समुदायका महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त देखिन्थे । पुरुष सुँगुरको मासु कति काट्नेदेखि लिएर अन्य काममा व्यस्त देखिन्थे भने महिला रोटी पकाउनेदेखि दिएर दुना टपरी खुट्नमै व्यस्त थिए । दिनभर माछा मार्नेलगायतका काममा थारु समुदायका मानिस माघीको तयारी गर्दै थिए ।

माघीको अघिल्लो दिन सुँगुरको मासु काट्ने, रोटी पकाउनेलगायतका काम तयारी स्वरुप हुने तुलसीपुर नगरपालिका– ६ का ज्ञानसिंह चौधरीले बताउनुभयो । मङ्गलबार तुलसीपुर– ६ रजौराको थारु गाउँमा सुँगुर घरघरमा ल्याएर काटने तयारीका साथ राखेका देखिन्थे भने महिला दुना टपरी गास्न र पिठोको तयारीमा व्यस्त देखिन्थे ।

आफ्नो घरको आँगनमा बसेर दुना टपरी बनाउँदै गरेकी बुझौनी चौधरीले भन्नुभयो “माघीका लागि खाना खान प्रयोग गर्नका लागि दुना टपरी बनाउँदै गरेकी छु । माघीमा घरका सबै परिवार नातेदार र पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खाना खानका लागि धेरै चाहिन्छ त्यसैले बनाउन लागेको हो ।” तुलसीपुर– ६ को रजौरा बस्तीमा मात्र होइन यहाँका अन्य स्थानका थारु बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ ।

लक्ष्मीपुर– ६ भानपुरकी मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त थिइन् मङ्गलबार । आफ्ना बुहारीसँगै बसेर दुना टपरी बनाउनमै व्यस्त मनराखी माघीमा खानका लागि मालुको पातको दुनाटपरी बनाउन मै व्यस्त थिइन् । मालुको पातका दुई किसिमका दुना टपरी बनाउँदै गरेकी मनराखीले ठूलो दुना जाँड खानका लागि र सानो टपरी सुँगुरको मासु खानका लागि बनाउन लागेको बताउनुभयो ।

“भोलि जाँड खाने हो त्यसैले पात खुट्न लाछौँ” उहाँले भन्नुभयो –“ठूलो टपरीमा जाँड खाने हो सानोमा सुँगुरको मासु खाने हो ।” करिब पाँच दिन अगाडिदेखि आफूहरू परिकार बनाउनका लागि लागिपरेको रामपुर– १ निमुरियाका शारदा चौधरीले बताउनुभयो । एक महिना अगाडिदेखि नै पातका लागि वन जाने, दाउराका लागि वनमा जाने गरेको भए पनि परिकारका लागि पुुस २५ गतेदेखि आफूहरू लागिपरेको उहाँको भनाइ छ ।

माघीका लागि अचार बनाउँदै गरेकी शारदाले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिक्री माघ १ गते बिहानमा ढिक्री बनाउने चलन रहेको र सबै जम्मा भएर खाने रमाउने गर्ने चलन रहेको बताउनुभयो ।

“सबै परिकार बनाइसके अब माघ १ गते बिहानमा ढिक्री बनाउने हो” उहाँले भन्नुभयो– “माघीमा सबै जम्मा हुने रमाउने यही त हो नि ।” माघमा ढिक्री बनाउने चलन रहेको भए पनि माघको १ गते बनाउने गरिन्छ । यस्तै माघीमा माछा मार्ने चलन पनि रहेको छ । माघीमा माछा मार्ने प्रचलन रहेकाले आफूहरू माछा मार्नका लागि बबई नदीमा आएको बबई नदीबाट माछा मारेर फर्केदै गरेकी   तुलसीपुर  नगरपालिका– १७ की लीला चौधरीले बताउनुभयो  ।

माछा मार्नका लागि गाउँमा युवायुवती जम्मा भएर माछा मार्नका लागि आएको उहाँले बताउनुभयो । “माघीमा माछा मार्ने प्रचलन रहेको छ” “रमाइलो हुन्छ माछा मार्न उहाँले भन्नुभयो ।” माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा घरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिनु भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला सखियै हो, माघीक पिली गुरी जाँर भन्ने गीत सबैको मुखमा झुन्डिएको हुन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरी चेलीलाई टीका लगाइदिने चलन पनि रहेको छ ।

प्रतिक्रिया