बुधबार, मंसिर १० २०७७
काठमाडौं १७:२५
वासिङटन डिसी 06:40

विवाद प्रदेश सीमाङ्कनको विषयमा मात्र

इनेप्लिज २०७१ पुष २९ गते १३:३२ मा प्रकाशित

काठमाडौँ, २९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले राजनीतिक दलहरूबीच संविधानका विवादित अन्तरवस्तुमध्ये प्रदेशको सीमाङ्कन बाहेकका विषयमा सहमति भइसकेको बताउनुभएको छ ।

लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा केन्द्रीय सदस्य उपाध्यायले संविधान निर्माणमा देखिएका अधिकांश विषयमा दलहरूबीच औपचारिक÷अनौपचारिकरुपमा सहमति भएपनि हाल विपक्षी दलहरूले अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाउनुभयो ।

विवादित अन्तरवस्तुमध्ये दलहरूबीच सङ्घीयता मात्र बढी पेचिलो विषयका रुपमा देखिएको बताउँदै नेता उपाध्यायले राजनीतिक नैतिकता नभएका केही दलका कारण निर्धारित समयमा संविधान नआउने खतरा बढेको दाबी गर्नुभयो ।

समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीले मुलुकका विभिन्न प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान गरेका साना लगानीका पत्रपत्रिकाहरू यतिखेर सङ्कटमा परेकाले त्यस्ता पत्रपत्रिकाले अब आफ्नो पहिचानका लागि पनि एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा नेपालवाणी नेटवर्क र की एड्भरटाइजिङका प्रबन्ध निर्देशक शशी रिजाल, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष बाला अधिकारी, गोरखापत्र संस्थानका बोर्ड सदस्य लीलाराज खनाल, लोकतान्त्रिक छापा माध्यमा राष्ट्रिय समाजका केन्द्रीय उपाध्यक्ष दिपेन्द्र चौहानले साना लगानीका अखवारको संरक्षणका लागि सरकारले विशेष कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया