शनिबार, मंसिर १३ २०७७
काठमाडौं २२:५५
वासिङटन डिसी 12:10

प्रक्रियाबाट संविधान बन्दैन, नयाँ शिराबाट सहमति गरौँ: गुरुङ

इनेप्लिज २०७१ पुष २९ गते ११:४९ मा प्रकाशित

dev-gurungगोरखाबजार, २९ पुस । नेकपा–माओवादीका सचिव देव गुरुङले प्रक्रियाबाट संविधान नबन्ने ठोकुवा गर्नुभएको छ । विवादित विषयमा दलहरूबीच सहमति नजुट्ने दाबी गर्दै सचिव गुरुङले प्रक्रियामा गए पनि संविधान जारी हुनै नसक्ने बताउनुभयो ।

“प्रक्रियाबाट संविधान बन्ने भए पहिलो संविधानसभाले नै संविधान जारी गथ्र्यो,” गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले भन्नुभयो, “असहमतिका मुद्दा ज्यूँकात्यूँ छन् । कसरी संविधान जारी हुन्छ ?” माघ ८ मा संविधान नबन्ने उहाँले उल्लेख गर्नुभयो ।

“माघ ८ मा केही गरे पनि संविधान बन्दैन” उहाँले भन्नुभयो, “सर्वपक्षीय सभा गरेर नयाँ शिराबाट अघि बढाँैं । माघ ८ को कुनै अर्थ छैन ।” कमल थापादेखि चित्रबहादुर केसीसमेतका पार्टीलाई समेटेर सर्वपक्षीय सभा गर्नुपर्ने उहाँको भनाइ थियो ।

“सानाठूला दल सबैलाई समेटेर सर्वपक्षीय सभामार्फत देशमा संविधान बनाआँैं” उहाँले भन्नुभयो, “सबैको सहमति जुटाएर बनाएको संविधानमात्रै जनताको संविधान हुन्छ । प्रक्रियाले बनाएको संविधानले जनताको हित गर्दैन ।” विगतका सम्झौता, सहमति सत्तारुढ दलले बिर्सेको उल्लेख गर्दै गुरुङले दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितका लागि निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।

सत्तारुढ दलका नेताले एक अक्षर पनि सहमति हुँदैन भनेकाले केही समयअघि सरकारले बोलाएको राजनीतिक सभामा आफूहरूले भाग नलिएको गुरुङले दाबी गर्नुभयो ।

दरबार हत्याकाण्डदेखि विदेशी शक्ति नेपालमा हाबी भएको उहाँको भनाइ छ । “विदेशी शक्तिकेन्द्रले नाजायज फाइदा लिएका छन्” उहाँले भन्नुभयो, “दलहरूको अहङ्कारले देश सहमतिमा चल्न सकेन । विदेशी हावी भए ।” संविधान निर्माणका क्रममा मुख्य मुद्दामा सहमति नभए जनमत सङ्ग्रहमा जान सकिने उहाँको जिकिर छ ।

एक दलले अर्को दललाई निषेध गरेर अघि बढेमा देशमा अर्को द्वन्द्व निम्तिने उहाँले बताउनुभयो । “हामीलाई दोस्रो संविधानसभादेखि नै दलहरूले निषेध गरेर अघि बढे” उहाँले भन्नुभयो, “निषेध गरेर अघि बढे अर्को द्वन्द्व हुनसक्छ ।” सहमतिमा संविधान जारी गर्ने वातावरण सिर्जना नहुँदासम्म सडकबाट आन्दोलन जारी राख्ने उहाँले बताउनुभयो ।

“सरकारले संवादको ढोका नखोलेसम्म हामी आन्दोलन गरिरहन्छौँ,” उहाँले भन्नु भयो, “सर्वपक्षीय भेलाले मात्रै मूलभूत मुद्दामा सहमति खोज्न सक्छ ।”

प्रतिक्रिया