बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं १७:०८
वासिङटन डिसी 07:23

पाकिस्तानमा सातजनालाई मृत्युदण्ड

इनेप्लिज २०७१ पुष २९ गते ११:०५ मा प्रकाशित

fasi-final1इस्लामावाद, २९ पुस । पाकिस्तानमा मङ्गलबार सात जनालाई मृत्युदण्ड दिइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको मुद्दा खेपिरहेका ती सातजनालाई मङ्गलबार मृत्युदण्ड दिइएको बताइएको छ । यो सहित पाकिस्तानमा गएको महिनादिनमा मात्र मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या १६ पुगेको समाचारमा उल्लेख गरिएको छ ।

गएको डिसेम्बर १६ मा पाकिस्तानको पेसावरमा रहेको एक सैनिक विद्यालयमा पाकिस्तानी तालिवानहरूले आक्रमण गरी १३४ जना साना बालबालिका सहित १५० जनाको हत्या गरेको घटनापछि त्यहाँको सरकारले मृत्युदण्डसम्बन्धी कानुन पुनः ल्याइएको हो । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले पाकिस्तानमा मृत्युदण्डको कानुनलाई मान्यता दिनुभएको हो ।

गएको छ वर्षदेखि प्रतिबन्ध लगाइएको मृत्युदण्डको कानुन गत महिनादेखि पुनः पाकिस्तानी प्रधानमन्त्री शरिफले खुला गर्नुभएको बताइएको छ । पाकिस्तानमा मृत्युदण्डको सो कानुनको विरोध आइरहेको भए पनि सरकार भने विरोधका स्वरहरू सुन्न तयार रहेको छैन । विद्यालयमा अध्ययनरत बालबालिकामाथि नै यो जघन्य अपराध गरेपछि पाकिस्तान सरकारले यस्ता आतङ्कवादी क्रियाकलापमा संलग्न हुने व्यक्तिलाई मृत्युदण्डको सजाय दिइनेगरी कानुनमा संशोधन गरेको हो ।

हाल अमेरिकी विदेशमन्त्री जोन केरी पाकिस्तानको भ्रमणमा हुनुहुन्छ । पाकिस्तानमा अमेरिकी विदेशमन्त्री केरीले पाकिस्तानलाई आतङ्कवादका विरुद्ध लड्न अमेरिकाले सघाउने प्रतिबद्धता व्यक्त गरेकै दिन त्यहाँ यो मृत्युदण्ड दिइएको छ । रासस/एएफपी

प्रतिक्रिया