शनिबार, मंसिर १३ २०७७
काठमाडौं २३:१२
वासिङटन डिसी 12:27

सहमतिका लागि दलहरुको छलफल जारी

इनेप्लिज २०७१ पुष २७ गते १५:०३ मा प्रकाशित

susil-kp-prachanda

काठमाडौँ, २७ पुस । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईको संयोजनमा सिंहदरबारमा आज बसेको प्रमुख तीन दलसहित अन्य सानाको बैठक पनि बिनानिष्कर्ष टुङ्गिएको छ ।

प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा(एमाले) र एकीकृत नेकपा(माओवादी)का शीर्ष नेताका साथै साना दलका अध्यक्ष (संवाद समितिका सदस्य) सम्मिलित बैठकले संविधानका विवादित अन्तरवस्तुमा छलफल गरे पनि बैठक बिनानिष्कर्ष टुङ्गिएको बैठकमा सहभागी नेताले बताएका छन् ।

बैठकमा कुनै पनि सहमति नभए पनि नेताले भने संविधानका विवादित अन्तरवस्तुमध्ये राज्य पुनःसंरचनासम्बन्धी खासगरी प्रदेशको सङ्ख्या, नामाङ्कन, सीमाङ्कनका विषयमा घनिभूत ढङ्गले छलफल भएको बताएका छन् ।

बैठकपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले आफू मोर्चाको भावनाविपरीत पनि सभापति डा भट्टराईको विशेष आग्रहमा बैठकमा सहभागी भएको जानकारी दिँदै दलहरुबीच विवादित विषयमा गम्भीररुपमा छलफल भएको बताउनुभयो ।

दुई तिहाईबाट जारी हुने संविधान दिगो नहुने भन्दै नेता गच्छदारले सर्बसम्मति नभए पनि अधिकतम् सहमतिका आधारमा मात्र संविधान जारी हुनुपर्ने धारणा राख्नुभयो ।

संविधानका विवादित विषयहरु सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सहमति गर्न संविधानसभाले यही पुस २९ गतेसम्मको समयसीमा दिएकाले सो अवधिभित्र सहमति गर्न संवाद समितिका सभापति डा भट्टराईले निरन्तर प्रयास गरिरहनुभएको छ ।

संवाद समितिको शुक्रबारको बैठकले विवादित विषयमा सहमति खोज्ने प्रक्रियाको संयोजन गर्न सभापति डा भट्टराईलाई जिम्मेवारी प्रदान गरेको थियो ।

प्रतिक्रिया