सोमबार, कार्तिक १० २०७७
काठमाडौं २१:२९
वासिङटन डिसी 11:44

सहमति नभए माघ ८ मा संविधान निर्माण हुँदैनः रावल

इनेप्लिज २०७१ पुष २७ गते १४:३७ मा प्रकाशित

Bhim Rawalअछाम, २७ पुस । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री भीम रावलले सहमति नभए माघ ८ मा संविधान घोषणा हुन नसक्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासङ्घ अछाम शाखाले आयोजना गरेको संविधान निर्माणका लागि दबाब दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा रावलले उक्त कुरा बताउनुभएको हो ।

एनेकपा माओवादी र मधेसी मोर्चा सम्बद्ध दलका कारण सहमति बिथोलिँदै गएकाले तत्काल सहमति हुन नसकेमा संविधान बन्न नसक्ने उहाँले बताउनु भयो ।

देशको समृद्धि र संविधान निर्माणका लागि सत्तासीन दल नेपाली काँग्रेस र नेकपा (एमाले)ले आफ्ना सम्पूर्ण अडान छोड्दा पनि एमाओवादी र मधेसी मोर्चा सम्बद्ध दलले सहमति पनि गर्न नखोज्ने र प्रक्रियामा पनि जान नमान्ने भएका कारण संविधान बन्न नसकेको बताउनुभएको छ ।

सत्तासीन दलले हदैसम्मको लचकता अपनाउँदासमेत सहमति नहुनु देश र जनताका नाममा धोका भएको बताउँदै सहमति र प्रक्रिया दुवैमा सहमति नहुँदा संविधान नबन्ने आशङ्का उत्पन्न भएको उहाँले बताउनुभयो ।

अहिले एमाओवादीले जातीय राज्यको माग गरेर देशलाई दुर्घटनामा धकेल्न खोजेको रावलले बताउनुभयो । साथै, रावलले नेपाली जनताले अब शान्ति चाहेकाले यो समय आन्दोलन र बन्द गर्ने समय नभएर संविधान निर्माणमा सबैले एकमत भएर जानुको विकल्प नभएको पनि बताउनुभयो ।

प्रतिक्रिया