शनिबार, मंसिर १३ २०७७
काठमाडौं २२:०४
वासिङटन डिसी 11:19

परदेशी मन

इनेप्लिज २०७१ पुष २६ गते २:५४ मा प्रकाशित

madhur raj sharma

“धनी मुलुकमा गरीब भाछु म त परदेश मा
तिम्रो चै बरु के कस्तो छ आमा भन न स्वदेश मा”

“बाबू कहिल्यै नआत्तिनु अनि कहिल्यै नमात्तिनु है” मेरी आमाले मलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोड्न आउदा शिरमा हात राखी भनेको अन्तिम वाक्य । हरेक बिहानी यहि वाक्य गुन्जीन्छ कानमा र झस्किन्छु , असिन-पसिन भएको ज्यान पुछेर एकोहोरिन्छु अनि । सम्झिन्छु अतीत , मेरो घर ,मेरो परिवार , मेरो समाज र मेरो इष्ट मित्र । मेरो पनि छुट्टै संसार थियो या भनौ “घर” थियो तर अहिले त नाङ्गीएछु , कोहि छैनन् साथ मा । एकछिन त धिकार्छु आफ्नै भाग्य , सोच्छु के खोज्न आए म यता ? यो विरानो सहरमा ?

सुनौलो भविष्य र केही आफ्नो र परिवारको जीवन स्तर बढाउन सक्छु कि भन्ने सपना लिएर छिरेको थिए । सुनौलो भविष्यको आशमा वर्तमान बिगारेको छु अहिले । सोच्छु यो सम्झना मात्र नआए पनि कति सजिलो संग बस्न सक्थे होला तर सोचेको जति सबै कहाँ पुग्थ्यो र ? जे कुरा सोच्दिन भन्छु तेहि सोचिरहेको हुन्छु । पिरोल्छ त अतितले ,त्यो आफ्नै देशको डाडा पाखाले , शारीरिक दुख त जसो तसो धानेको नै छु । कसैले करले आएको पनि हैन आफ्नै रहर थियो , आफ्नै बाध्यता थियो । ठूलो सहर , धेरै पैसा कमाउने सपना त मेरो थियो , ठूलो महत्वकांक्षा र एकोहोरो पनको अगाडि कस्को के नै लाग्थ्यो र ? जिन्दगीको अन्तिम सपना झै थियो जुन सहजै बा-आमाले पनि पुर्याइदिनु भयो।

यो सहर जति हरीयाली छ ,उज्यालो छ तेती नै म भित्र अन्धकार छाएको छ , म खोक्रिएको छु । कसैले सोध्दैनन् आमा के छ तेरो मनमा भनी , कसैलाइ सुनाउन सक्दिन पनि । आफ्नो मनको सारा गुनासो आफू भित्र कोचेर यात्रा पार गर्नु पर्ने रहेछ यो सहरमा , कसैलाइ कसैको मतलब छैन जति नै बाहिरी कोलाहल भए पनि । “मन को बह कसैलाई नकह” भन्ने भनाई त यहाँ लागू हुने रहेछ । अर्काको देशमा छु ,मनमा चट्टान बोकी हिडि रहदा बाटोमा कोहि खैरे हरुसंग आँखा जुध्यो भने फिस्स हास्दिनु पर्ने , तेहि हासो हेरी “ए यो त ठिकै रहेछ” भनी बुझ्दा हुन क्यारे तेसैले कसैले सोद्धैनन् मनको विरह , मन भित्रका हावा हुन्डरी ।

दोष लाउने ठाउँ थिएन कसैलाइ पनि , दोषी त भाग्य थियो जोस्ले मेरो उज्यालो संसार खोसेर यहाँ कालकोठरीमा ल्याएर थुनि दिएको छ । बाटोमा हिन्दा केहिमा अलिकति ठेस लागे पनि आजकल भाग्यलाइ सरापछु , सजिलो कुरा पनि कठिन भाषामा भन्न मनपराउछु , सायद जिन्दगीलाई नै सरलता पच्न छोडिसकेको थियो । साझ जति भिड बढ्दै जान्छ तेतीनै यो मन आत्तिन्छ आमा , तेती नै तिम्रो सापिप्यता खोज्छ , तिम्रो न्यानोपन खोज्छ । मलाइ भनेको थियौ नि “कहिल्यै नआत्तिनु र कहिल्यै नमात्तिनु” भनेर , म कसरी बुझाउ आमा तिमीलाई , परदेशको मौसमनै यी दुई प्रकारको हुने रहेछ । अनायासै अत्ताइदिन्छ , अनायासै मत्ताइदिन्छ ।

म एक्लो छु , म कठोर छु , मनमा सारा पिर लुकाइ मुहारमा हासो थमाएर हिन्न सक्छु । कस्को रहर हुन्थ्यो र घरपरिवार त्यागेर यो बिरानो सहरमा एक्लै बस्न ? कुनै परिस्थिति तेस्तै थिए , कुनै अभाव तेस्तै थिए । जति भोगे विगतमा त्यो अबको दिनमा र मेरो आफ्नो आउने पुस्ताले भोग्न नपरोस भनेर कुदेको थिए , समय भन्दा पनि अगाडि । हिजो सम्म आमाको काख नपाए सुत्न नसक्ने छोरा आज जिन्दगीको सहजता खोज्न टाढिएको थियो परिवार बाट । हो म धेरै अगाडि बढिसकेको थिए समय भन्दा । धेरै अगाडि पुगे अब फर्केर पछाडि हेर्न पनि त सक्दिन । मात्र सक्छु त अझै अगाडि बढ्न , यो यात्रा गर्दा आएको बाधा र अड्चन सकिनसकि पार गर्नु भन्दा अरु बिकल्प भेट्दिन । या भनौ अरु विकल्प सोच्न पनि सक्दिन । बा-आमाको आश जो जोडिएको थियो , त्यो सुन्दर बिहानी कल्पेर बस्दै छिन होली मेरी आमा पनि उता । म फर्केर आफ्नै देश जानेछु त्यो सुन्दर घामको उज्यालो बोकी ।

“सास रहे सम्मको आश” भन्थे , भोगाईमा परेपछि सबै यस्ता भनाई आफ्नै लागि भनिदिएको जस्तो लाग्ने रहेछ । धन्न मलाई बचाउने यही एक सुन्दर “आश” मात्र छ । यहि अलि टाढा देखिएको आशाको उज्यालो देखेर बाँच्ने साहस आउछ । मेरो पनि दिन फर्किने छ , फेरि उहीँ सहर , उहीँ गाउँ , उहीँ परिवार , उहीँ इष्ट मित्र , एउटा सपनाको घर । आहा ! सार्है सुन्दर छ मैले अलि पर देखेको उज्यालोको परिणाम ।

(म परदेशीएको छैन , सायद परदेशी मनले यस्तै बताउछ , यस्तै कल्पिए मैले ,यस्तै यस्तै सुनेको थिए ,मैले । केही अपुग रहेको खन्डमा पक्कै मलाई सचेत गराउनु हुनेछ भन्ने आश छ )

प्रतिक्रिया