शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं १४:००
वासिङटन डिसी 04:15

विवाद सुल्झाउने जिम्मा डा भट्टराईलाई, अब केही हुन्छ कि

इनेप्लिज २०७१ पुष २५ गते १५:२६ मा प्रकाशित

Baburam_Bhattarai

काठमाडौँ, २५ पुस । संवैधानिक राजनीतिक–संवाद तथा सहमति समितिले प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमा दलहरूबीच देखिएको विवाद सुल्झाउन समितिका सभापति डा बाबुराम भट्टराईलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

समितिको आज बसेको बैठकले प्रस्तावित संविधान लेखनका क्रममा दलहरूबीच देखिएका असहमतिका बुँदाहरूलाई सहमतिमा रूपान्तरण गर्ने क्रममा विभिन्न दलको नेताहरूसँग छलफल गरी समितिको आगामी आइतबार बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने जिम्मेवारीसमेत सभापतिलाई प्रदान गरेको हो ।

संविधानसभाको पूर्ण बैठकले दिएको निर्देशनअनुसार विवाद टुङ्ग्याउने प्रयासस्वरूप बसेको समितिको आजको बैठकमा विवाद सुल्झाउन तीनवटा विकल्पसहितको अवधारणा प्रस्तुत गरिएको थियो ।

विवादित विषयलाई समितिको पूर्ण बैठकबाटै छिनोफानो गरिनुपर्ने एउटा विकल्प थियो भने निश्चित व्यक्तिहरूलाई जिम्मेवारी दिने र त्यो उपसमितिले दिएको प्रतिवेदनका आधारमा सहमतिमा पुग्न सकिने अर्को विकल्प प्रस्तुत गरिएको थियो ।

तेस्रो विकल्पका रूपमा विवादित विषयमा सहमति खोज्ने जिम्मेवारी सभापतिलाई नै दिने र सभापतिले नै संयोजन गरी सबै दलका शीर्ष नेतासँग छलफल गरी विषयलाई निष्कर्षमा पु¥याउनु नै बुद्धिमानी हुने तर्क प्रस्तुत गरिएको थियो ।

बैठकपछि समितिका सभापति डा भट्टराईले समितिले दिएको निर्देशनअनुसार आफूले सभाध्यक्षसमेतको सहभागितामा प्रमुख दलका शीर्ष नेताहरूलाई राखेर छलफल आजैबाट प्रारम्भ गर्ने जानकारी दिनुभयो ।

दलहरूबीच सङ्घीयताको स्वरूप, सङ्ख्या, नामाङ्कन, सीमाङ्कन, निर्वाचन प्रणाली, शासकीय स्वरूप र न्याय प्रणालीका विषयमा गम्भीर मतभेद रहेको छ ।

संविधानसभाले यी विषयमा चारदिनभित्र सहमतिको प्रयास गर्न र त्यससम्बन्धी आवश्यक प्रतिवेदन प्रस्तुत गर्न समितिलाई चार दिनको समयसीमा दिएको छ ।

प्रतिक्रिया