बुधबार, मंसिर १० २०७७
काठमाडौं १६:५२
वासिङटन डिसी 06:07

वैद्य माओवादीसँग को-को मिसिँदैछन् ?

इनेप्लिज २०७१ पुष २४ गते १७:३० मा प्रकाशित

rambahadur-thapa

प्यूठान, २४ पुस । नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले तीन कम्युनिस्ट पार्टी एकीकरणको अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

“सँगै मिलेर द्वन्द्व गरेका मणि र परी नेतृत्वको माओवादीसँग एकीकरण अन्तिम चरणमा पुगेको छ,” उहाँले भन्नुभयो – “एमाओवादीका दोस्रो तहका नेताहरू समेत हामीसँगै एकीकरण प्रयासमा छन्, नेतृत्वको कारण हुन सकेको छैन ।”

पछिल्लो एक हप्तादेखि रोल्पा, प्यूठान, रुकुम र दाङमा जिल्लास्तरका कार्यकर्तालाई प्रशिक्षण दिँदै आउनुभएका महासचिव बादलले बुधबार प्यूठानको विजुवारमा एमाओवादीका महासचिव कृष्णबहादुर महरासँग पनि आफूले पार्टी एकीकरण र वामपन्थी पार्टीको एकता केन्द्र स्थापना गर्ने विषयमा छलफल गरेको बताउनुभयो ।

“एमाओवादी पनि संविधानसभामा पेलिएको छ,” उहाँले भन्नुभयो – “अब सबै एकै स्थानमा आउनुपर्ने समय आएको छ ।”

पार्टी एकीकरणका विषयमा धेरै समय खर्चेका नेता बादलले केही समय पहिला विभाजित भएको नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लब’को अलग्गिने निर्णयलाई ‘आवेगको गल्ती’ संज्ञा दिनुभएको छ ।

संविधान निर्माणको एक फरक प्रसङ्गमा उहाँले माघ ८ मा संविधान नबन्ने दाबीसमेत गर्नुभयो । “राष्ट्रिय सम्मेलनबाट मात्रै संविधान निर्माण हुन्छ,” उहाँले भन्नुभयो – “राष्ट्रिय सम्मेलन गर्ने हो भने अझै पनि समय छ ।”

जिल्लास्तरमा ३० जनाभन्दा धेरै कार्यकर्तालाई प्रशिक्षण दिँदै उहाँले संविधानसभाले द्वन्द्वका मुद्दालाई सम्बोधन गर्न नसक्ने समेत बताउनु भएको प्रशिक्षणमा सहभागी नेकपा माओवादीका जिल्लास्तरका एक नेताले जानकारी दिनुभयो ।

द्वन्द्वको समयमा सशक्त भूमिका खेलेका माओवादी नेताहरू कृष्णबहादुर महरा, रामबहादुर थापा र नेत्रविक्रम चन्द अहिले प्यूठान, रोल्पा र दाङमा रहनुभएको छ ।

प्रतिक्रिया