शनिबार, कार्तिक ८ २०७७
काठमाडौं ११:३९
वासिङटन डिसी 01:54

नेपालमा आमाको नामबाट नागरिकता पाउनुपर्ने मानव अधिकारकर्मीको माग

इनेप्लिज २०७१ पुष २४ गते १७:१८ मा प्रकाशित

काठमाडौँ, २४ पुस । महिला तथा मानव अधिकारकर्मीले नागरिकताको सवालमा नयाँ संविधानमा ‘आमा र बाबु’ भन्दा पनि ‘आमा वा बाबु’को प्रावधान राख्नुपर्ने माग गरेका छन् ।

संविधानमा ‘आमा वा बाबु’ अथवा ‘आमा र बाबु’ के राख्ने भन्नेबारेमा राजनीतिक दलबीच विवाद भइरहेको अवस्थामा आमाको नामबाट नागरिकता पाउनका लागि ‘आमा र बाबुको प्रावधान राखिनुपर्ने माग गर्दै आज अधिकारकर्मीले शान्तिपूर्ण पदयात्राकोसमेत आयोजना गरे ।

अन्तरिम संविधान २०६३ को धारा ८ को उपधारा २ को खण्ड (ख) मा कुनै व्यक्ति जन्म हुँदाको बखत निजको ‘बाबु वा आमा’ नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजका आधारमा नेपाली नागरिक हुने भनिएको छ ।

ओरेक नेपाल, इन्सेक र हसानलगायतका करिब ६० सङ्घ÷संस्था आबद्ध नागरिक समाज र युवा अधिकारकर्मीको सञ्जालको आयोजनामा बबरमहल, शङ्खमूल, तीनकुने र पुरानो वानेश्वरबाट एकैसाथ सुरु भएका चारवटा पदयात्रा नयाँ वानेश्वरस्थित संविधानसभा भवन नजिकै पुगेर कोणसभामा परिणत भएको थियो ।

पदयात्रापछि सञ्जालको टोलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई भेटगरी आमाको नामबाट नागरिकता प्राप्त गर्ने प्रावधान राखिनुपर्ने माग गर्दै सङ्कलित हस्ताक्षर बुझाएको छ ।

सोही अवसरमा अध्यक्ष नेम्वाङले आगामी संविधान लैङ्गिकमैत्री हुने प्रतिबद्धता व्यक्त गर्नुभएको सञ्जालका संयोजक सुविन मुल्मीले जानकारी दिनुभयो । सञ्जालले भावी संविधानमा नागरिकताकोे अधिकार सुनिश्चित गर्नका लागि विभिन्न चरणबद्ध सङ्घर्ष गर्दै आएको छ ।

सञ्जालले नयाँ संविधानमा प्रस्तावित नागरिकतासम्बन्धी व्यवस्थाले आमाको नामबाट स्वतन्त्र रूपमा नागरिकता प्राप्त गर्ने अधिकारको कटौती गर्दा कैयौँ नेपाली राज्यविहीन हुने जोखिमको सिर्जना हुने भएकाले उक्त प्रस्तावित प्रावधानका सन्दर्भमा संविधानसभालाई संवेदनशील भई दफावार छलफल गरी आमाको नामबाट नागरिकता प्राप्त गर्ने हक सुनिश्चित गरिनुपर्ने माग गर्दै आएको छ । रासस

प्रतिक्रिया