सोमबार, कार्तिक १० २०७७
काठमाडौं ०७:३६
वासिङटन डिसी 21:51

हाम्रो कारणले खाना पकाउने ग्यासको अभाव भएको होईनःनिगम निर्देशक

इनेप्लिज २०७१ पुष २२ गते १२:०० मा प्रकाशित

Gas-Baji

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा निर्देशक गोईतले भारतले पहिला नै रिफाईनरी मर्मतको लागि बन्द हुने जानकारी दिएकोले अभावमा आफूहरुको हात नभएको स्पष्ट पारेका छन् ।

उनले डिसेम्बर महिनामा २५ हजार मेट्रिक टन ग्यास माग रहेकोमा १८ हजार ८ सय ८६ मेट्रिक टनमात्रै ग्यास आएकोले बजारमा अभाव देखिएको भन्दै आगामि एकसाताभित्र अभाव हट्ने विश्वास ब्यक्त गरे ।

ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बरौनी रिफाईनरी मर्मतको क्रममा बन्द भएकोले बजारमा ग्यासको अभाव भएको भए पनि अभावमा डिलरहरुको समेत बदमासी रहेको आरोप लगाए ।

उनले डिलरहरुले क्षमता भन्दा बढी ग्याँस राखेर अभाव सृजना गरेको भन्दै डिलहरुको प्रमाणिकरण र अनुगमन हुनुपर्ने धारणा राखे ।

अर्यालले राज्य ग्यासको आपूर्ति गर्न असफल भएको भन्दै यस्तै अवस्थामा आगमि माघ महिनासम्म बजारमा अभाव कायम रहने अनुमान ब्यक्त गरे ।

नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले सहज आपूर्ति गर्न नसकेसम्म एक वर्षमा पनि ग्यासको आपूर्ति सहज नहुने भन्दै सरकारकै कारण अभाव सृजना भएको आरोप लगाए ।

उनले अहिलेसम्म मागको ४० प्रतिसतमात्रै आपूर्ति भएको भन्दै अनुगमनको नाममा ग्यास सहज गर्न नसकिने बतए । उनले भने–‘यो उपभोक्तालाई अल्मल्याउने खेलमात्रै हो ।’

राष्ट्रिय उपभोक्ता हित मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले समाजमा ग्यास निर्विकल्प साधन भईसकेकोले कडा अनुगमन गरेर सहज बनाउनु पर्ने भन्दै अहिले आयल निगमकै कारण अभाव भएको आरोप लगाए ।

प्रतिक्रिया