सोमबार, कार्तिक १० २०७७
काठमाडौं २२:३५
वासिङटन डिसी 12:50

संविधानको ध्वजा शान्तिले रंगियोस

इनेप्लिज २०७१ पुष १९ गते २०:४१ मा प्रकाशित

sunita jee

समय बलवान छ, जसलाई न त रोक्न सकिन्छ न त यस्ले पर्खन्छ नै । उ त आफ्नो गतिमा हिंडी नै रहन्छ । यहीं बलवान समय संगै देशमा धेरै उत्तार चढ़ाप अनि परिबर्तनहरु आए,भए वा यसो भनौं गरिए । यतिखेर सबैको ध्यान एउटै विषयमा केन्द्रित छ माघ ८ मा ” संबिधान ” आउँछ कि आउंदैन होला । अब अढाई हप्ता छ मननको मिती । जन अपेक्षामाथि उपेक्षा नहोस् भन्ने मन्त्र सबैतिर जपिदैछ ।

कति गर्नु क्यार क्यार . . . नगरी बस्न सकिने अवस्था पनि त छैन । सचेत नागरिकको हैसियतले देशको दशा अनगिन्ति पटक विश्लेषकहरुले नकोट्याएका होइनन, नझक-झक्यएका होइनन् तर सुन्नेहरुका श्रवण शक्ति स्थिर नहुँदा बिस्कुन माथि हुट्टी ट्यांउ कुर्लिनु झैं भएको छ । हो ! कति गरौँ खै उनै लाज पचेका नेतैको कुरा, धारे हत्केला तेर्स्याई तेर्स्याई कत्ति सरापौं, नाम नलिउ भन्दा नि लिनै पर्छ वाक्क दिक्क भैसकेका जनता जनार्दन यस्सै भन्छन अचेल ।

एकातर्फ देशको अस्थिरता अर्को तर्फ चरम महंगी, बेरोजगारी र अभाव सब्बै कोण बाट जनताकै ढाड सेकिएको छ । वास्तबमै त्राहिमाम छन् जनता । देश १२ बर्षे जनयुद्धमा होमिदा दिलोज्यानले लागेका छिमेकी दिल बहादुर यतिखेर पश्चातापका राप ताप्दै आफ्नै परिचया लुकाउदैं डुकुलंठ्यंग रोजगारको लागि छटपटीदै छन् । कैयौं पात्रहरुको उ एक निमित्त हो । हजारौं निर्दोष जनताले दिएका रगतको वलीदान राम्रो संग ओभिएको पनि छैन तर त्यहि नायक शासकहरुले पुनः शोषण गर्न कत्ति लजाइएनन जुन सामन्तवाद बिरुद्ध सोझासाझा जनतालाई हतियार बनाइएको थियो ।

देशको दिशा दिशाहीन छ । हर एक जनता आफ्नै छानोमुनि ढुक्क सँग निदाउनु सक्दैनन् अजकल । सुशासनका सुवास छर्ने आफैं दुर्गन्धित भएपछी । जनताको शाशन, जनताकै लागि खोइ, कहाँ छ ? बेरोजगारले छटपटीएका देशका खम्बा युवाहरु हरेक दिन हजारौं को संख्यामा बिदेशिन बाध्य छन् । यो देशको सबै भन्दा ठुलो दुर्भाग्य हो । यति मात्रै कहाँ हो र ! बेरोज्गारको चपेटामा परेकाहरुको कमजोरीको फाइदा उठाउदै युवाहरु दिनदहाडै दलालको हात बाट बेचिएर बिदेशमा अलपत्र परेको र जेलमा कष्ट भोगिरहेका लज्जास्पद, दुखद समाचारहरुले दुखि कसलाई बनाउदैन । यस्ता बाहिर नआएका घटनाहरु अझ कति होलान । त्यसमा पनि ऋण गरि गरि सुन्दर भविष्यको सपना बुन्नेहरुको यथार्थ जब अकल्पनीय बिदेशी जेलबाट उनीहरुको कथा/व्यथाहरु सुनिन्छ/देखिन्छ संचार माध्यम बाट मन, मस्तिष्क छिया छिया हुन्छन । कस्ले बुझ्ने ? कस्ले सुन्ने, कस्ले देख्ने यहाँ ? को जिम्मेवार छ यी सब हुनुमा ?

घुमिफिरी उहीं रुम्जैटार भन्ने नेपाली उक्ति झैँ कुरो देश हाक्ने नायाकरुकै आउँछ । देशको बेथिति नै मूल कारण हो जसलाई हाक दिनेहरु यतिका बर्ष सम्म अन्योलमा रहनु ठुलो दुर्भाग्य हो र त्यसपछि नागरिक आफैं पनि सचेत हुने बेला आइसकेको छ । यदि बिदेशमा जतिकै मेहनत, लगनसिलता स्वदेशमा आफ्नै माटोमा गरे, अमुल्य पसिना त्यहि चुहाए अवस्य लाभ हुनेमा दुइमत छैन ।

नेपाली इतिहासलाइ फर्केर हेर्ने हो भने पटक पटक मुर्झिदै ब्युँझिएकि छिन । दुइहजार सातमा, दुइहजार सत्रमा, दुइहजार छत्तिसमा, दुइहजार सडचालिसमा, दुइहजार बैसठ्ठी/तिरसठ्ठीमा जुन जनसागरको परिबर्तनकारी जनाअन्दोलनहरु भए सम्झन लायक छन् तर उपलब्धि जति हुनु पर्ने थियो त्यति हुँदै भएन । हत्केलाको औंलामा जनता नचाउन माहीर नेताहरुले समय संगै आफुलाई परिबर्तन नगर्दा वाहिया नजरमा यतिखेर नेपाल अत्यन्त नाजुक स्थितिको भीरमा उभिएको छ । आफ्नो निर्णय आफैंले गर्न नसक्दा आन्तरिक मामिलामा बाहिरिय चलखेल र चासो बढिरहेको छ अहिले । अर्को बिडमभना के छ भने तिमी सँग यस्तो महत्वपूर्ण खजाना छ र तिमी यो गर्न सक्छौ जाउ गर आँट अरुले भन्नु पर्छ । त्यतिखेर बेशरम हामी आफैंलाइ गिज्याँउदै तालि पिटछौं ।

लाटो हिसाबले हेर्दा पनि छ बर्ष सम्म देशलाई थारो बनाउने नेताहरुले जुन शुख, सुबिधा भोग गरे आ-आफ्नो हैसियतको यदि साच्चै उनीहरु म राष्ट्रको सेवक हूँ भन्छन भने त्यो सुबिधा भोगमा पनि कटौती गर्नु पर्थ्यो तर निर्धक्क जिर्ण, देशका लागि भार बनेका केहि नेताहरुले आफ्नो स्वास्थ्योपचारमा राष्ट्रको ढुकुटी बाट करोडौं पैसा खर्चिए । महाकाली वाडी बाट सयौं परिवार बेघर भए, परिवार बिहिन, आफन्त बिहिन हुँदा यति सहायता भएन बरु । यतिखेर यस्तो जाडोमा थोत्रे कपडा , झिक्रा, प्लास्टिक बारी एक ढुकढुकी बचाइरहेका छन् उनीहरु ।

आम समस्या सुल्झ्याउनु भन्दा अझ उल्झाएर स्वार्थको भागबण्डा नमिल्दा देशलाई नै दाउमा राख्न नहिच्किचाउनेहरुको नखरा अब जनताले बुझ्नु पर्ने घडी आएको छ । गुण्डाहरु पालि सत्तामा टिक्नेहरुलाई अब जनता खबरदार गर्छन । हो अब, धैर्यको बाँध टुटिसकेकोछ । कमसेकम आफ्नै देशको माटोमा एक फोक्सोभरी स्वास निस्फिक्री सित लिन सकियोस । यतिखेर सम्पूर्ण जनचाहना र अपेक्षा यहीं नै छ कि माघ आठमा ल्याइने संविधानले छुनुपर्ने आम विषय वस्तुलाई समेट्दै सम्बोधन गरोस् र सदभाव बढाउदै रंगियोस शान्तिको ध्वजाले ।

प्रतिक्रिया